Logo
Logo

सुदूरपश्चिमलाई लगातार छैटौँ जित, चितवनको ‘प्लेअफ’ यात्रा कठिन


882
Shares

काठमाडौं । चितवन राइनोजलाई हराउँदै सुदूरपश्चिम रोयल्स पहिलो ‘क्वालिफायर’मा पुगेको छ भने विराटनगर किंग्सको पनि ‘प्लेअफ’मा स्थान सुरक्षित भएको छ ।

सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार साँझ चितवनलाई ४९ रनले हराउँदै सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा पुगेको हो । सुदूरपश्चिमले अहिलेसम्म खेलेका ६ वटै खेल जितेको छ । लिग चरणमा अपराजित रहेको सुदूरपश्चिम १२ अङ्कसहित अङ्क तालिकाको शीर्षस्थानमा छ । 

बिहीबार सुदूरपश्चिमले दिएको एक सय १७० रनको लक्ष्य पछ्याउने क्रममा चितवन १२० रनमै समेटियो । चितवनका लागि रवि बोपाराले सर्वाधिक २९ रन बनाए । उनले २३ बलमा एक चौका र दुई छक्का प्रहार गरे । त्यस्तै, देव खनालले २८, अर्जुन साउँदले १६ र कुशल मल्लले १५ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन् । 

सुदूरपश्चिमका लागि पुनित मेहराले दुई, दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, अविनाश बोहरा र इशान पाण्डेले एक-एक विकेट लिए । यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले चार विकेटको क्षतिमा एक सय ६९ रन बनाएको थियो । सुदूरपश्चिमका लागि क्रिस लिनले सर्वाधिक ७५ रन बनाए। उनले ५६ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे । 

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान २४ रन बनाए । दीपेन्द्रले १४ बलमा दुई छक्का प्रहार गरे भने आरिफले १६ बलमा दुई चौका र एक छक्का प्रहार गरे । 

त्यस्तै, ओपनर विनोद भण्डारीले २१ रन बनाए । उनले १७ बलमा दुई चौका र एक छक्का प्रहार गरेका थिए । पुनित मेहराले १३ रन बनाए भने इशान पाण्डे र हरमित सिंह एक९एक रनमा आउट भए । 

चितवनका लागि सैब जैबले दुई विकेट लिए। रञ्जित कुमार र जर्ज स्क्रिमसोको नाममा एक९एक विकेट रह्यो ।  शुक्रवार जनकपुर बोल्टस् र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्नेछ। यो खेल अपराह्न ४ बजे सुरु हुनेछ । 

आजको हारसँगै चितवनको ‘प्लेअफ’को बाटो कठिन बनेको छ । अहिलेसम्म खेलेका ६ खेलमध्ये चार हार ब्यहोरेको चितवनको दुई जितसहित चार अङ्क छ। अब अन्तिम खेल जितेमा ६ अङ्क हुनेछ । चितवनलाई ‘प्लेअफ’मा पुग्न अन्तिम खेल जितेर मात्रै हुँदैन, अरू टोलीको खेलमा निर्भर हुनुपर्छ । 

आजको खेलसँगै अन्तिम चारमा पुग्ने तेस्रो टोली पनि पक्का भएको छ । सुदूरपश्चिम यसअघि नै अन्तिम चारमा पुगेको थियो भने काठमाडौँ गोर्खाज बिहीबार दिउँसो भएको खेलमा पोखरालाई पराजित गर्दै अन्तिम चारमा पुगेको हो । काठमाण्डु लिग चरणका सातमध्ये पाँच खेलमा जित र दुई खेलमा हार ब्यहोर्दै १० अङ्कसहित दोस्रो स्थानमा छ । 

आज चितवन पराजित भएसँगै विराटनगरको ‘प्लेअफ’ स्थान सुरक्षित भएको छ । विराटनगर लिग चरणका ६ मध्ये दुई खेलमा हार र चार खेलमा जितसहित आठ अङ्क बटुेर तेस्रो स्थानमा छ । 

अब अन्तिम चारको एक स्थानका लागि चार टोली लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्टस् र चितवन राइनोज प्रतिस्पर्धामा छन् । शुक्रवार जनकपुरसँग हुने लिग चरणको आफ्नो अन्तिम खेल जितेमा लुम्बिनी आठ अङ्कसहित ‘प्लेअफ’मा पुग्नेछ भने अन्य तीन टोलीको यात्रा टुङ्गिनेछ । 

शुक्रवारको खेल जनकपुरले जितेमा भने ‘प्लेअफ’को प्रतिस्पर्धा रोचक बन्नेछ । समान ६ खेल खेलेको लुम्बिनीको ६ अङ्क छ भने पोखराको चार अङ्क छ।त्यस्तै, पाँच खेल खेलेको जनकपुरको दुई अङ्क मात्रै छ । जनकपुर अर्को खेलमा शुक्रवार लुम्बिनीसँग र अन्तिम खेलमा आइतबार कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ । कर्णालीमा प्लेअफको दौडबाट बाहिरिएको छ । 

प्रतिक्रिया दिनुहोस्