काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । सबै उप–सूचक हरियोबाट रातोमा फर्किए भने नेप्से परिसूचक २३.५० अंक ओरालो झर्दै २६०७ अंकमा थामियो। यससँगै बजार लगातार पाँच कारोबार दिनदेखि झर्नै क्रममा छ।

कारोबार सुरु भएलगत्तै बजार उत्साही बनेको थियो । ११:०९ बजे नेप्से २६३६ अंक उक्लिए पनि त्यसपछि बिक्री चाप हावी भई नेप्से निरन्तर तल झर्यो ।
आज ४६ कम्पनीको मूल्य बढेको, २०४ कम्पनीको घटेको र ८ कम्पनीको स्थिर भएको नेप्सेले जनाएको छ। कारोबार रकम पनि अघिल्लो दिनको ५ अर्ब २३ करोडबाट बढेर ५ अर्ब ३३ करोड पुगेको छ ।
सबै क्षेत्रका सूचक राताम्मे
बैंकिङ ०.६०, विकास बैंक ०.९३, फाइनान्स १.००, होटल–पर्यटन १.२०, जलविद्युत् १.२२, लगानी ०.८९, जीवन बीमा ०.५९, उत्पादन तथा प्रशोधन ०.९१, माइक्रोफाइनान्स १.०४, निर्जीवन बीमा ०.९३, अन्य ०.१२ र व्यापार समूह १.२१ प्रतिशत घटे ।
३ कम्पनी १० प्रतिशतले उक्लिए
स्वस्तिक लघुवित्त, श्रीनगर एग्रिटेक र झापा इनर्जीका सेयर १० प्रतिशतले उक्लिँदा यी कम्पनीहरूको मूल्य हालसम्मकै सर्वोच्च बिन्दुमा पुगेको छ । त्यसैगरी मेन्छियाम हाइड्रोपावर ५.३७ प्रतिशत र एसियन हाइड्रोपावर २.६७ प्रतिशतले बढे ।
सूचीकृत भइसकेपछि लगातार १० प्रतिशतको उछालमा रहेको सागर डिस्टिलरी आज भने ६.९० प्रतिशतले झर्यो। बुङ्गल हाइड्रोपावर ८.५१, माबिलुङ इनर्जी ६.९८ र मिथिला लघुवित्त ५.९० प्रतिशतले घटे ।
सबैभन्दा बढी कारोबार भएका कम्पनी
आजको सूचिमा सागर डिस्टिलरी, ङादी ग्रुप, बन्दीपुर केबुलकार, युनाइटेड मोदी हाइड्रोपावर र हिमालयन रिइन्स्योरेन्स शीर्ष पाँचमा परे ।











