Logo
Logo

सरकारद्वारा वार्ता समिति गठन : डा. केसीको माग सम्बोधन होला ?


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ असोज । डा.गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता समिति गठन गरेको छ । डा. केसीले पछिल्लो पटक अनशन सुरु गरेको २४औँ दिनमा बल्ल सरकारले वार्ता टोली समिती गठन गरेको हो । यसअघि जस्तै यो वार्ता समितिले डा. केसीको अनशन तोड्ने काम मात्र गर्ने आशंका गरिएको छ किनकि सरकारबाट यसअघि पनि केसीसँग वार्ता गर्ने र सहमति गरेर कार्यान्वयन नगर्ने काम गर्दै आएको छ । डा. केसीको यो १९औँ पटकको अनशन हो ।
चिकित्सा शिक्षा क्षेत्रको सुधारसम्बन्धी विभिन्न माग पटक–पटक अनशनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको र चौतर्फी केसीको समर्थन र सरकारको आलोचना हुने थालेपछि सरकारले बुधबार डा. केसीसँग वार्ता गर्न वार्ता समिति गठन गरेको हो ।
सरकारले बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेका छन् । सचिव मैनालीले सरकारले डा. केसीस“ग वार्ता गरेर उनका मागको विषयमा छलफल गर्ने जिम्मेवारी दिएको बताए ।
डा. केसीले पछिल्लो समय २९ भदौमा जुम्लाबाट अनशन सुरु गरेका थिए । उनलाई ५ असोजमा नेपाल प्रहरीले नेपालगञ्ज ल्याएको थियो । नेपालगञ्जबाट हेलिकप्टरमा ६ असोजमा काठमाडौं ल्याइएपछि उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन् । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको अस्पतालले जनाएको छ । २४ दिनदेखि अनशनरत डा. केसीको जीवनरक्षामा सरकारले पहल नगरेको भन्दै बुधबारमात्रै नेपाल चिकित्सक संघले आन्दोलन समेत घोषणा गरेको थियो । डा. केसीका माग सम्बोधनका लागि सरकारी वार्ता टोली गठन गर्न दिएको अल्टिमेटिम बुधबार नै सकिएपछि संघले आन्दोलनको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्