Logo
Logo

समानुपातिक निर्वाचन प्रणालीतर्फ एकैदिन ३३ दल दर्ता


0
Shares

काठमाडौं । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनाव अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ ३३ दल दर्ता भएका छन् । निर्वाचन आयोगले आजदेखि समानुपातिकतर्फको चुनावी कार्यक्रम शुरू गर्दै दल दर्ता आह्वान गरेकोमा आजै ३३ वटा दल दर्ता भएका हुन् ।

आयोगका अनुसार फागुन २१ गतेको प्रतिनिधिसभा चुनावमा सहभागी हुन पर्सि २३ गते मङ्गलवार दिउँसो ४ बजेसम्ममा निर्वाचन आयोगमा निवेदन दिनुपर्नेछ । प्राप्त भएका निवेदन उपर अध्ययन गरी मङ्सिर २६ गतेसम्म स्वीकृत गरिनेछ भने आउँदो पुस १३ र १४ गते समानुपातिकतर्फका उम्मेद्वारको बन्दसूची पेश गर्ने समय छ ।

यसैबीच फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा एक सय दुई वटा राजनीतिक दलले एक्लाएक्लै प्रतिस्पर्धा गर्ने भएका छन् । एक सय २० राजनीतिक दलले चुनावमा भाग लिनका लागि निवेदन दिएकामा एक सय दुई वटा दलले एक्लाएक्लै चुनावमा जाने गरी निवेदन दिएका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

१२ वटा राजनीतिक दलले भने संयुक्त रूपमा एकल चिह्न प्रयोग गर्ने गरी पाँच वटा समूहमा निवेदन दिएका छन् । एकल र संयुक्त चुनाव चिह्न प्रयोग गरी एक सय १४ राजनीतिक दलले भाग लिने भएकाले उनीहरूका लागि एक सय सात वटा चुनाव चिह्न प्रयोग हुनेछ ।

राजनीतिक दलहरूको निवेदन स्वीकृत भइसकेको छ । प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन माघ ६ गते गर्ने कार्यतालिका छ । आयोगले माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची बनाएको छ ।

यस्तै माघ ९ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् र त्यही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिह्न प्रदान गर्ने तयारी गरेको छ

प्रतिक्रिया दिनुहोस्