
काठमाडौं । नेकपा (एमाले) ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ ।
यसपटक महाधिवेशन आयोजक कमिटीले आवासको व्यवस्था नगरेकाले सम्पर्क समन्वय कमिटीले टाढाबाट आउने प्रतिनिधिहरूलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको प्रबन्ध मिलाएको हो ।
कमिटीका सचिव आरसी लामिछानेले बस्न र खानाको समस्या हुने प्रतिनिधिहरूलाई सहजताका लागि यस्तो व्यवस्था गरिएको जानकारी दिए । उनले भने, ‘यसपटक प्रतिनिधिलाई महाधिवेशन आयोजक कमिटीले आवासको व्यवस्था मिलाएको छैन । तर हामीले काठमाडौँमा बस्न समस्या नहोस् भनेर नेता तथा कार्यकर्ताको घर र कोठामा राख्ने व्यवस्था मिलाएका छौँ ।’
अहिले प्रदेशगत रूपमा काठमाडौँमा बस्न समस्या हुने प्रतिनिधिहरूको विवरण सङ्कलन भइरहेको उनले जानकारी दिए । यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा करिब दुई हजार २०० प्रतिनिधि सहभागी हुनेछन् ।
पार्टीले आवासको व्यवस्था नगरेकाले यसपटक प्रतिनिधि शुल्क पनि कम तोकेको छ । महाधिवेशनका आयोजक प्रतिनिधिहरूलाई तीन हजार रुपियाँ र निर्वाचित भएर आउने प्रतिनिधिहरूलाई दुई हजार रुपियाँ शुल्क तोकिएको छ ।











