बुटवल । रुपन्देहीका क्यासिनोहरूमा बढ्दो बेथिति र आन्तरिक कलहले कानुनी मोड लिएको बेला उच्च अदालत तुलसीपुर (बुटवल इजलास)का उपरजिस्ट्रार चन्द्रमणी ज्ञवालीको विवादित होटल भ्रमणले थप प्रश्न उठाएको छ ।
शुक्रबार भैरहवास्थित होटल एसियन बुद्धमा पुगेका ज्ञवालीको यो कदमले अदालतमा विचाराधीन मुद्दामा पक्षपातपूर्ण हस्तक्षेप हुनसक्ने आशंका बढाएको छ ।

होटलका डाइरेक्टर तिलकराम घिमिरेको निमन्त्रणामा पुगेका ज्ञवालीले होटलमै नास्ता गरी फर्किएको स्रोतले बताएको छ । सिसि क्यामराको निगरानीभन्दा बाहिर बसेर उनी कालिजको सुप खाँदै घिमिरेसँग गफिएको होटल स्रोतको दाबी छ । उनीसँगै जिल्लाका अर्का सरकारी अधिकारी पनि रहेको बताइन्छ । तर, उनको परिचय खुल्न सकेको छैन ।
यो घटनाले क्यासिनो सञ्चालकहरूबीचको सेयर र पदको विवादलाई थप जटिल बनाउने चिन्ता व्यक्त गरिएको छ । विशेषगरी, ‘इलिगेन्ट इन्टरटेन्मेन्ट सेन्टर’ (क्यासिनो)की अध्यक्ष अन्जु गुरुङको पदबाट हटाउने प्रयासलाई घिमिरे र क्यासिनो कर्मचारी समीर शर्माले डिजाइन गरेको आरोप लागेको छ ।
गुरुङले आफूलाई हटाउन जालसाजी र कीर्ते कागजातको प्रयोग भएको भन्दै उच्च अदालत तुलसीपुर (बुटवल इजलास)मा मुद्दा दायर गरेकी थिइन् । अर्का, सञ्चालक विजय उप्रेतीले अध्यक्षको अनुमतिबिना विशेष साधारण सभा बोलाएर गुरुङलाई पदच्युत गर्न खोजेपछि विवाद चर्किएको थियो ।
अदालतले तत्कालका लागि साधारण सभा रोक्न र माइन्युटहरू यथास्थितिमा राख्न स्टे अर्डर जारी गर्दै दुवै पक्षलाई यही २२ गते (आज) छलफलका लागि बोलाएको छ । साथै, गुरुङले सेयर हडप्ने षड्यन्त्र भएको भन्दै जिल्ला अदालत रुपन्देहीमा कीर्ते मुद्दासमेत दायर गरेकी छन् । अदलतले दुबै पक्षलाई छलफलको लागि बोलाएका बेला उपरजिस्ट्रारले एक पक्षलाई भेट्नुलाई अस्वभाविक रुपमा चर्चा सुरु भएको छ ।
यस्तो संवेदनशील अवस्थामा उपरजिस्ट्रार ज्ञवालीको होटल भ्रमण किन भयो ? ‘मुद्दा विचाराधीन रहँदा न्यायिक अधिकारीको यस्तो भ्रमणले निष्पक्षतामाथि प्रश्न उठाउँछ,’ एक कानुन व्यवसायीले भने, ‘यो कदमले अदालती प्रक्रियालाई प्रभावित पार्न सक्छ ।’
रुपन्देहीका क्यासिनोहरूमा नेपाली नागरिकलाई प्रवेश दिने, कर छली गर्ने र सुरक्षा मापदण्ड पालना नगर्ने जस्ता समस्या बढ्दै गएका छन् । यस्ता संस्थाहरूमा गोलीकाण्डजस्ता घटनासमेत भएका छन्, जसको मुख्य कारण प्रशासनको फितलो अनुगमन नै हो ।











