
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट दोस्रोपटक हटाइएका हितेन्द्रदेव शाक्यको रिटमा आज सुनुवाइ हुँदैछ ।
०७८ मा कार्यकारी निर्देशकमा नियुक्ति भएको केही महिनामै हटाइएपछि रिट दायर गरेका शाक्यको अहिलेसम्म फैसला भएको छैन । कुलमान घिसिङ ऊर्जामन्त्री भएपछि पुनः हटाइएका शाक्यले अर्को रिट हालेका छन् ।
उनको रिट पहिलेकै रिटसँग लगाउमा राखिएको छ । यससँगै घिसिङले आफूलाई चार महिना बाँकी रहँदै हटाइएको भन्दै गत वर्ष दायर गरेको रिट पनि एकसाथ राखिएको छ । यी दुवै पक्षको रिटमा सुनुवाइ गर्न सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासमा पेसी तोकिएको छ ।
आज हुने सुनुवाइपछि सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा शाक्य पुनः प्राधिकरण फर्कनेछन् । तर सर्वोच्चले अन्तरिम आदेशभन्दा पनि अन्तिम सुनुवाइ गर्ने तयारी गरेको छ । पछिल्लो पटक शाक्यलाई सरुवा गरेर ऊर्जामन्त्री घिसिङले मनोज सिलवाललाई कार्यकारी निर्देशक बनाएका छन् ।











