Logo
Logo

नेपालको बैंकिङ प्रणालीमा पनि एआई प्रयोग गर्ने तयारी


945
Shares

काठमाडौं । अब बैंकिङ प्रणालीमा क्रेडिट स्कोरिङ, धोखाधडी पत्ता लगाउने, ग्राहक सेवा, जोखिम व्यवस्थापन र अनुपालन अनुगमनसहित विभिन्न क्षेत्रमा एआईको प्रयोगलाई समेटिने भएको छ ।

पछिल्लो समय प्रविधिमा भएको द्रूत विकासले वित्तीय संस्थाहरूको कार्यशैलीमा पनि परिवर्तन भएको छ । सोही सन्दर्भमा नेपाल राष्ट्र बैंकले एआईको प्रयोगका लागि दिशानिर्देश गर्न ‘आर्टिफिसियल इन्टेलिजेन्स मार्गदर्शन’ तयार गरेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा लागु गर्न मार्गदर्शनको ड्राफ्ट तयार पारेको हो । केन्द्रीय बैंकले आगामी पुस १५ गतेभित्र उक्त खाकामाथि लिखित तथा इमेलमार्फत रायरसुझाव उपलब्ध गराउन सम्बद्ध सरोकारवालाहरूलाई अनुरोध गरेको छ । प्राप्त सुझावको आधारमा मार्गदर्शनलाई आवश्यकताअनुसार शंसोधन गरिने र अन्तिम खाका सार्वजनिक गर्ने केन्द्रीय बैंकले जनाएको छ ।

मौद्रिक नीतिमा मार्गदर्शनबारे उल्लेख थियो । सोहीअनुसार अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरूलाई पछ्याउँदै नेपालको वित्तीय प्रणालीको विशिष्ट सन्दर्भ अनुरूप मार्गदर्शन तयार पारिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त संस्थाहरू वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त संस्थाहरू, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका साथै भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र भुक्तानी सेवा प्रदायक (पीएसए)मा यो मार्गदर्शन लागु हुनेछ ।

मार्गदर्शनले बोर्ड सदस्यहरू, वरिष्ठ व्यवस्थापन र कर्मचारीहरूलाई एआईसँग सम्बन्धित जोखिम र प्रविधिहरूबारे प्रशिक्षित गर्न क्षमता विकास गर्नुपर्ने र ग्राहकहरूलाई एआईको प्रयोगबारे सचेत गराउनुका साथै एआई–सम्बन्धी गुनासोहरूलाई उचित रूपमा सम्बोधन गर्न गुनासो व्यवस्थापन संयन्त्र स्थापना गर्नुपर्नेमा जोड दिएको छ । यी मार्गदर्शनको पालना गर्दा साइबर लचकता मार्गदर्शन, २०८० र सूचना प्रविधि मार्गदर्शन, २०६९ लगायत अन्य सान्दर्भिक कानुन तथा नियमहरूको पनि पालना गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्