Logo
Logo

तन्त्रमन्त्रको आरोपमा चालककाे हत्या, ७ जना पक्राउ


756
Shares

सुनसरी । सिटी सफारीका चालक हत्या प्रकरणमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । गत असोज २५ गते रामधुनी नगरपालिका–२, कर्मनिया टोलस्थित भित्री सडकखण्डमा सिटी सफारी (रिक्सा) चालक दिनेशकुमार चौधरीलाई गोली हानी हत्या गरिएको घटनामा प्रहरीले ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामधुनी नगरपालिका–१ का ४३ वर्षीय राजकिशोर साह, ४० वर्षीय नन्दकिशोर साह, सप्तरीको राजविराज–१६ का २८ वर्षीय अङ्कित साह, २८ वर्षीय प्रिन्सकुमार दास, भोक्राहा नरसिंह गाउँपालिका–५ का ३४ वर्षीय मोहम्मद इब्रान मिया, देवानगञ्ज–४ का ३७ वर्षीय गियास मन्सुरी र देवानगञ्ज–५ का २५ वर्षीय मिथिलेस यादव रहेका छन् । राजकिशोर साह (राजेश) र नन्दकिशोर साह दाजुभाई हुन् । उनीहरु नै घटनाको मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ ।

गत असोज २५ गते शनिबार साँझ प्रदेश १–०२–००४ ह ७८०४ नम्बरको सिटी सफारीका चालक, रामधुनी–२ का ४५ वर्षीय चौधरीलाई अपरिचित व्यक्तिहरूले गोली हानी हत्या गरेका थिए ।

सो घटना अनुसन्धानका लागि छुट्टै टोली गठन गरी प्राविधिक तथ्य, स्थानीयवासी तथा परिवारको बयानका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । प्रारम्भिक अनुसन्धानमा चालक चौधरीले तन्त्रमन्त्र गरी परिवारजनलाई लामो समयदेखि दुःख दिँदै आएका भन्ने अन्धविश्वासका कारण साह दाजुभाईले योजनाबद्ध रूपमा हत्या गराएको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए ।

प्रहरीका अनुसार रकम लेनदेन गरी समूहगत रूपमा गोली प्रहार गरिएको अनुसन्धानका क्रममा खुलेको छ । सुनसरी र सप्तरीको विभिन्न ठाउँबाट पक्राउ परेकाहरुले प्रारम्भिक सोधपुछका क्रममा घटनामा संलग्नता स्वीकार गरेका छन् ।

उनीहरू विरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको छ । सुनसरी जिल्ला अदालतबाट यही मङ्सिर १७ गतेदेखि १२ दिनको म्याद थप गरी उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्