Logo
Logo

राष्ट्रिय सभामा मिलेर चुनाव लड्न देउवालाई ओलीको प्रस्ताव


1.5k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभामा मिलेर चुनाव लड्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् ।

गत शुक्रबार ओलीले कांग्रेस सभापति देउवालाई महाराजगन्जस्थित उनको निवासमै पुगेर भेट गरेका थिए । भेटमा एमाले र कांग्रेसबीच सहकार्य गर्ने र राष्ट्रिय सभाको चुनाव पनि मिलेर लड्ने प्रस्ताव राखेको एक नेताले जानकारी दिएका छन् ।

राष्ट्रिय सभाका १९ जना सदस्यका लागि आगामी माघ ११ गते निर्वाचन हुँदै छ । रिक्त हुने १९ सदस्यमा सबैभन्दा धेरै एमालेका ८ जना छन भने तत्कालीन माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, राष्ट्रपतिबाट मनोनीत १, जनता समाजवादी पार्टी नेपालका १ र लोकतान्त्रिक समाजवादी पार्टीका १ जना छन् ।

स्रोतका अनुसार ओली कांग्रेससँगको गठबन्धन ब्युँताउने कोसिसमा छन् । जेनजी आन्दोलनबाट सत्ताच्युत हुनुअघिसम्म कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री थिए । यस्तै, ओलीले संसद पुनर्स्थापनाका लागि पहल गर्न पनि देउवासँग आग्रह गरेका थिए ।

भेटलगत्तै आइतबार कांग्रेसले संसद् पुनर्स्थापना माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । एमालेले मंसिर ९ गते नै सर्वोच्चमा यससम्बन्धी रिट दायर गरेको थियो । विघटित प्रतिनिधि सभामा एमालेका मुख्य सचेतक महेश बर्तौलाले देउवा–ओलीबीच रिट दायर गर्ने विषयमा छलफल भएको बताए।

यद्यपी ओली दम्पती र देउवा दम्पतीबीच भएको उक्त भेटमा के के कुराकानी भयो भन्ने स्पष्ट खुलाइएको छैन । ओलीको प्रस्ताव र त्यसमाथि देउवाको धारणा पनि औपचारिक रुपमा सार्वजनिक गरिएको छैन ।

जेनजी आन्दोलनका कारण भदौ २४ गते कांग्रेस–एमाले गठबन्धनका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए। भदौ २७ गते प्रधानमन्त्री नियुक्त हुनेबित्तिकै सुशीला कार्कीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्