काठमाडौं । सुदूरपश्चिम रोयल्सका दुई अस्ट्रेलियन खेलाडी स्वदेश फर्किएका छन् । रोयल्सले दुई नयाँ खेलाडीलाई टोलीमा अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) मा टप अर्डरमा ब्याटिङ गरिरहेका क्रिस लिन र जोश ब्राउन अस्ट्रेलिया फर्किएका हुन् ।

लिनले ६ इनिङ्समा एक अर्धशतकसहित १४३ रन बनाएका थिए । ब्राउनले पनि एक अर्धशतकसहित १०१ रनको योगदान दिएका थिए । रोयल्सले नयाँ दुई खेलाडीमा १ भारतीय खेलाडी र एक पाकिस्तानी मूलका अमेरीकन खेलाडीलाई अनुबन्ध गरेको छ । प्लेअफमा पुगेको सुदूरपश्चिम रोयल्सले भारतीय खेलाडी शेल्डन फिलिप्स ज्याक्सनलाई भित्र्याएको छ । सुदूरपश्चिमले ३९ बर्षिय ज्याक्सनलाई टोलीमा भित्र्याएको हो ।
ज्याक्सनले भारतको सौराष्टबाट रणजी ट्रफीलगायतका घरेलु क्रिकेट खेल्ने गर्दछन् । उनले फस्ट क्लास क्रिकेटमा ७ हजार भन्दा बढी रन बनाएका छन्, जसमा २१ शतक सामेल छन् । त्यस्तै उनले कोलकोता र बैंगलुरुबाट आइपिएलसमेत खेलेका छन् ।
त्यस्तै अर्का खेलाडी हुन्-मुख्तर अहमद,जो पाकिस्तानी मूलका हुन् । उनी अहिले अमेरीकाबाट खेलिरहेका छन् । ३२ वर्षीय अहमदले पीएसएल र बीपीएल समेत खेलिसकेका छन् । उनले टि-२० खेलमा हजार धेरै रन बनाएका छन् ।
दुई अस्ट्रेलियन खेलाडी स्वदेश फर्किएपछि रोयल्स ब्याटिङ अडर खलबलिएको देखिएको थियो । त्यो ब्याटिङ अडर मिलाउनका लागि टोलीमा दुई नयाँ खेलाडीलाई अनुबन्ध गरिएको हो । दुई नयाँ खेलाडीको खेल कस्तो रहन्छ त्यो भने हर्ने बाँकी छ ।
साबिक उपविजेता सुदूरपश्चिमले क्वालिफायर १ मा विराटनगर किङ्ससँग खेल्नेछ । लिग चरणमा सुदूरपश्चिमले ७ खेलमा ६ जितसहित १२ अङ्क जोडेको थियो ।











