काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपालका पुराना राजनीतिक दल र तिनका नेताहरू ‘भिजनविहीन’ रहेको बताएका छन् ।

काठमाडौंको सिफलमा आयोजित पार्टीको पहिलो औपचारिक सभा तथा ‘सङ्गठन विस्तार र पार्टी प्रवेश कार्यक्रम’ लाई सम्बोधन गर्दै साम्पाङले वर्तमान नेतृत्वप्रति तीव्र असन्तुष्टि जनाएका हुन् । उनले भने, ‘देश अहिले अभिभावकविहीन र नेतृत्वविहीन बनेको छ । हामीले अहिलेसम्म जसलाई नेता चुनेका छौँ, तिनमा न भिजन छ, न गन्तव्यको ज्ञान । आफूलाई त कहाँ जाने थाहा छैन, देशलाई कहाँ पु¥याउँछन्रु’।
साम्पाङले पुराना नेताहरू विदेशीको अगाडि झुक्ने, अनुदान र ऋण लिने तर त्यसको दुरुपयोग गरी निजी सम्पत्ति थुपार्ने काम मात्र गरेको आरोप लगाए । उनले भने, ‘सीमाना कहाँसम्म हो थाहा नपाउने, जनताको जिउधनको रक्षा गर्न नसक्ने, सहकारी ठगी र बेथिति रोक्न नसक्नेहरू नेतृत्व गर्न योग्य छैनन् ।’
उनले अहिलेको युवा पुस्तामा फैलिएको निराशाको मुख्य जड नेतृत्वको असफलता रहेको बताए । अबको एक मात्र विकल्प ‘श्रम संस्कृति पार्टी’ भएको दाबी गर्दै उनले भने, ‘हामीसँग देशलाई जरौदेखि रूपान्तरण गर्ने स्पष्ट भिजन र कार्ययोजना छ । जनताको दुःखलाई आफ्नै दुःख ठान्ने नेतृत्व अबको आवश्यकता हो । हामी अन्तिम विकल्पका रूपमा आएका हौँ ।’
जेनजी पुस्ताको आन्दोलनको मर्मबारे बोल्दै साम्पाङले भने, ‘जेनजीले भन्न खोजेको एउटा ठूलो सत्य यो पनि हो, हाम्रो विचार र संस्कृतिसँग मेल खाने राज्य व्यवस्था हुनुपर्छ । त्यही कुरा हाम्रो घोषणापत्रमा स्पष्ट लेखेका छौँ ।’
उनले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याएर सरकार बनाउने दृढ विश्वास व्यक्त गरे । उनले सत्ता प्राप्त भएपछि जेनजी पुस्ताको माग सम्बोधन गर्न छुट्टै आयोग गठन गर्ने प्रतिबद्धता जनाए ।











