काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पछिल्ला घटनाक्रमहरूले नेपाली समाजको नैतिक मूल्य र सांस्कृतिक बन्धन कमजोर बन्दै गएको संकेत गरेको बताएका छन् । उनले पार्टीको आसन्न महाधिवेशनमा पेस हुने राजनीतिक दस्तावेजका लागि तयार पारेको अवधारणापत्र सोमबार केन्द्रीय कार्यालयमा बुझाएका छन् । सोही अवधारणापत्रमा उनले यस्तो विश्लेषण गरेका हुन् ।

अवधारणापत्रमा पोखरेलले वर्तमान समाजमा व्याप्त निराशा र असन्तोष विभिन्न आन्दोलनका रूपमा प्रकट भइरहेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘अर्थ–राजनीतिमा विद्यमान संरचनागत सङ्कटले जनजीविकामा पारेको बहुआयामिक असर गम्भीर छ । आमनिराशा र असन्तोष त्यसकै अभिव्यक्ति मात्र हो ।’ उनले असन्तुष्टिको अराजक विस्फोट निरन्तर रूपमा भइरहेको टिप्पणी गर्दै भनेका छन्। ‘पछिल्लो एक वर्षयता गोंगबुको ल्होत्से मल घटना, २०८१ चैत १५ मा आन्दोलनको नाममा तीनकुने–कोटेश्वर क्षेत्रमा भएको लुटपाट तथा भदौ २४ को घटनाक्रमले नेपाली समाजको नैतिक र सांस्कृतिक आधार खलबलिन थालेको स्पष्ट संकेत गरेका छन् ।’
नेपाली समाज अनियन्त्रित अराजकतातर्फ उन्मुख हुने खतरा बढ्दै गएको उनको ठहर छ । उनले भनेका छन्, ‘स्रोत-साधनमा पहुँचको असमानता, रोजगारीको अभाव, आर्थिक वृद्धिको न्यायोचित वितरणको कमी र सुशासनको अभावले समाजलाई विस्तारै अनियन्त्रित अराजकतातर्फ धकेल्दै छ । निजी क्षेत्रको लगानी वातावरण कमजोर बनेको छ, वैदेशिक लगानीको सम्भावना क्षीण भएको मात्र होइन, अप्रत्यक्ष रूपमा पूँजी पलायनको जोखिम बढेको छ । यस्तो अवस्थाले राज्यलाई असफलतातर्फ लैजाने खतरा छ ।’
आफूहरू सरकारमा हुँदा पनि यी संरचनागत समस्याको समाधानमा पर्याप्त हस्तक्षेप गर्न नसकेको उनले खुला रूपमा स्वीकार गरेका छन् । ‘हामी सरकारमा रहँदा अर्थ–राजनीतिका संरचनागत सङ्कटमा पर्याप्त हस्तक्षेप गर्न चुकेका छौँ । पार्टीका वैचारिक मान्यता र जनतासमक्ष गरेका प्रतिबद्धताको वस्तुनिष्ठ कार्यान्वयनमा हामी असफल भयौँ,’उनले आत्मालोचना गरेका छन् । उनले भनेका छन्, ‘लामो समय राज्य र सरकारको नेतृत्व गरेर पनि यी जटिलतालाई समाधान गर्न पर्याप्त ध्यान दिन नसकेकोमा हामीले गम्भीर आत्मसमीक्षा गर्नै पर्छ ।’











