Logo
Logo

सबै क्षेत्रको विकासका लागि भरपर्दो उत्तर-दक्षिण राजमार्ग आवश्यक छः अर्थमन्त्री


567
Shares

सुदूरपश्चिम । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशको समग्र र समष्टिगत विकासका लागि उत्तर-दक्षिण सिधासम्पर्क स्थापित हुने भरपर्दो राजमार्ग आवश्यक रहेको बताएका छन् ।

The current image has no alternative text. The file name is: rameshwor.jpg

कैलाली उद्योग वाणिज्य सङ्घद्वारा धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सव २०८२ को आज उद्घाटन गर्दै उनले गुणस्तरीय र भरपर्दो उत्तर-दक्षिण सडक सञ्जाज नहुँदा सुदूरपश्चिम प्रदेशमा विकासले गति लिन नसकेको धारणा राखे ।

अर्थमन्त्री खनालले भने,“उत्तर-दक्षिण कनेक्टिभिटी अति महत्त्वपूर्ण छ, कनेटिभिटीले नै विभिन्न हावापनी भएको भूगोल, विभिन्न संस्कृति र क्षमता भएकाहरूलाई सहज रूपमा आर्थिक गतिविधिमा सक्रिय बनाउँछ । सुदूरपश्चिममा यही नभएका कारण विकासमा समस्या भयो ।”

उनले स्रोतको उपयोग गर्दै ठूला परियोजना अगाडि बढाउनुपर्ने र अधुरा विकास आयोजना सकेसम्म चाँडो सम्पन्न गर्नुपर्छ भन्ने सोचका साथ आफूले काम गरिरहेको बताए । उनले भने “ जेनजी युवापुस्तको आवाजले देशलाई परिवर्तनका लागि अगाडि बढ्न सन्देश दिएको छ । नवयुवाको परिवर्तनको चाहनालाई संस्थागत गर्न तोकिएको फागुन २१ मा निर्वाचन गर्नुछ । हामीसँग धेरै समय, सीमा पनि छैन, तथापि विकासका कामलाई एउटा लयमा लिनका लागि हाम्रो प्रयत्न जारी छ ।”

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले सुदूरपश्चिम प्रदेश कृषि, पर्यटन, जलस्रोत, जडिबुटीलगायत स्रोतमा सम्भावनाको खानी भए पनि अपेक्षित विकास हुन नसकेको बताए । अब सबै पक्ष मिलेर प्रदेशको विकासका लागि लाग्नुपर्ने र त्यसमा आफ्नो तर्फबाट पनि भूमिका रहने बताए ।

धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमालले पछिल्लो तथ्याङ्कले सुदूरपश्चिममा गरिबी घट्नुको साटो बढेको देखिएको भन्दै अब सही योजनामा लगानी गरेर स्रोतको उपयोग र आर्थिक गतिविधि बढाउनुपर्नेमा जोड दिए ।

कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्करराज ओझाले हरेक वर्ष आयोजना हुने महोत्सवमार्फत विभिन्न माग राखेर शालिन आन्दोलन थालिएको लामो समय भइसक्दापनि धेरै माग पूरा हुन नसकेको भन्दै ध्यानाकर्षण गराए ।

समारोहमा सुदूरपश्चिमको विकास तथा अन्य क्षेत्रमा महत्त्वपूर्ण योगदान दिएको भन्दै पत्रकार चित्राङ्गत थापा, स्वास्थ्य सेवातर्फ डा प्रदिप मिश्र, डा मोहन साउद, तीर्थराज पन्त, भाषा साहित्यतर्फ डा टिएन जोशी, शिक्षातर्फ प्राडा तुल्सीराम जोशी, उद्योग व्यापारतर्फ हेमराज पाठक, समाजसेवातर्फ सिवी चन्द, पर्यटनतर्फ व्यवसायी कलमबहादुर बम, कृषितर्फ रबिनकान्त पन्त, महिला उद्यमी राजकुमारी चौधरी, लोकसंस्कृतितर्फ चक्र बम, खेलकुदतर्फ शेरबहादुर सिंह र क्रिकेटर दिपेन्द्रसिंह ऐरी तथा युवा उद्यमी सुरज रैकालाई सम्मान गरिएको थियो ।

धनगढी उपमहानगरपालिका-१ मा रहेको मैदानमा भइरहेको महोत्सव आगामी पुस २ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव स्थलमा कृषिउपज प्रदर्शनी, हस्तकला, जडिबुटी, स्थानीय समुदायका खानाका परिकार, सांस्कृति कार्यक्रम, बाल उद्यानलगायत स्टल राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्