काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न मातहत निकायलाई निर्देशन दिएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उहाँले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, कानुन मन्त्रालय र वैदेशिक रोजगार विभागका अधिकारीहरुसँग श्रम समस्याका विषयमा छलफल गर्ने क्रममा यस्तो निर्देशन दिएकी हुन् । यसै सन्दर्भमा उनले कुवेतमा अलपत्र परेका महिला कामदारको छिटो उद्धार गर्न पनि ताकेता गरेकी थिइन् ।

सरकारले नीति नियम बनाउँदा वैदेशिक रोजगार व्यवसायी र दलालको मात्र लाभ नहेरी श्रमका लागि विदेश जाने आफ्ना नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता राख्नुपर्ने उनको भनाइ थियो । विदेशमा गएर दुःख पाउने, ठगिने र सरकारले उद्धार गर्नुपर्ने अवस्था आउन नदिने गरी प्रणाली स्थापित गर्न पनि उनको निर्देशन छ । उनले भनिन्,’म्यानपावर (व्यवसायी) मोटाउने काम मात्र नगरौँ। म्यानपावरलाई सचेत गराउनुपर्यो। अलपत्र पार्न भएन।’
उनले वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित मुलुकको भाषा र कामको अभिमुखीकरण तथा तालिम लिएर मात्र जाने व्यवस्था कडाका साथ लागू गर्न समेत सरकारी अधिकारीहरुको ध्यानाकर्षण गराएकी छन् । उनले भनिन्, ‘वैदेशिक रोजगारीमा जानेले पनि पढ्नुपर्यो। तालिम लिनुपर्यो। राज्यले कर लिन्छ भने सुरक्षित आप्रवासनको पनि सुनिश्चितता गर्नुपर्यो । सबै कुरा दलाललाई छाडिदिएर हुँदैन।’
१० हजार रुपैयाँको भौचर लिएर लाखौँ उठाउने प्रवृत्ति पनि नियन्त्रण गर्न निर्देशन दिदै उनले भनिन्, ‘दलालले आफ्नो फाइदाका लागि उक्साउँछन् । गाउँदेखि सोझा मान्छेलाई लिएर आउँछन्। यता ठूलाबडाका म्यानपावर कम्पनी छन् । सबै मिलेर जनताको सोझोपनको फाइदा उठाएका छन् । यो अवस्था अन्त्य गर्न राज्यले नै काम गर्नुपर्छ । ’
कार्यक्रममा कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, मुख्यसचिव सुमनराज अर्याल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवद्वय राजकुमार श्रेष्ठ र गोविन्दबहादुर कार्की, श्रम मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगाना लगायत सरकारी अधिकारीहरुको उपस्थिति थियो ।











