Logo
Logo

चुनावमा कांग्रेससँग तालमेल गर्ने ओलीको प्रस्ताव


2.7k
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा काँग्रेससँग सहकार्य गर्ने प्रस्ताव गरेका छन् । जेनजी विद्रोहपछि मुलुकको राजनीतिक परिस्थिति बद्लिएसँगै एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको भेटका क्रममा यस्तो प्रस्ताव गरेका हुन् । ओलीले आफ्नो स्वार्थ हेरेर काँग्रेससँग सहकार्यको प्रस्ताव गरेका छन् ।

पार्टीभित्र एकल निर्णय गरिरहेका ओलीले काँग्रेसलाई समेत आफ्नो मार्गचित्रमा डो¥याउन खोजिरहेका छन् । भदौ २३ गतेको जेनजी आन्दोलन र भदौ २४ गतेको विध्वंसअघि नेपाली काँग्रेससँग सहकार्य गरिरहेका ओलीले पार्टीभित्रका विरोधी ठेगान लगाउनका लागि काँग्रेससँग सहकार्यको प्रस्ताव गरेका हुन् । पार्टीको ११आंै महाधिवेशनमा आफूलाई असहयोग गर्ने नेताहरूलाई जनताको माझबाट विमुख गर्ने नीतिअनुसार काँग्रेससँग प्रतिस्पर्धा नभई सहकार्य गर्न खोजेको स्रोतको दाबी छ ।

विगतमा आफू प्रधानमन्त्री हुनका लागि तत्कालीन एमाले र माओवादीको एकीकरण गराएका थिए । त्यतिबेलाका पार्टी नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमलाई समेत जानकारी नदिई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिलेर चुनावी गठबन्धन र पछि पार्टी एकता नै गराएका थिए ।

ओली जब आफूलाई अप्ठेरो पर्छ त्यतिबेला एमालेको ठूलो पंक्तिलाई देखाएर अर्को पार्टीसँग अनुकूलताको गठबन्धन गर्ने र आफ्नो विपक्षमा रहनेलाई सिध्याउने गर्छन् । अहिले एमालेको आन्तरिक लोकतन्त्रको प्रश्न उठिरहेका बेला देशीविदेशी प्रतिक्रियावादी शक्तिलाई दोष दिएर कांग्रेससँग चुनावी गठबन्धनको प्रस्ताव अघि सार्न पुगेका छन् ।

‘ओली आफ्नो स्वार्थका लागि जे पनि गर्छन्, पहिला दुई पटक संसद् असंवैधानिक रूपमा विघटन गरे, अहिले संसद् विघटन गर्न हुँदैन भन्दै काँग्रेसलाई समेत उकासेर सर्वोच्च अदालतमा पु¥याए’, एमालेका एक पदाधिकारीले दृष्टिसँग भने ‘महाधिवेशन आउदैछ पार्टीभित्रका विरोधीलाई ठिक पार्न चुनावी गठबन्धन गर्ने प्रस्ताव अघि सारे ।’ओलीले दुई पटक दुई तिहाइ सरकारको नेतृत्व गरे तर दुवै पटक असफल भए । अहिले पनि एमालेको तर्फबाट आफै राज गर्ने दाउमा रहेका ओलीले काँग्रेसलाई अघि सारेर चुनावमा जान खोजेका हुन् ।

‘जेनजी पुस्ताले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचारलगायतका विकृतिको विरोध र सुशासनको पक्षमा भदौ २३ गते गरेको प्रदर्शनका क्रममा १९ जनाको ज्यान गयो । त्यसपछि हेलिकोप्टर चढेर सैनिकको सहयोगमा भागेका ओलीले काँग्रेससँग चुनावी सहकार्यको प्रस्ताव गर्नुले पार्टीभित्र आश्चर्य मानिएको छ । ‘

जेनजी आन्दोलनबाट विस्थापित भएपछि भेटघाट टुटेको झन्डै तीन महिनापछि दुई नेता सपरिवार गत शुक्रबार सँगै देखिएका थिए । ओली पत्नी राधिका शाक्यलाई लिएर देउवाको भाडाको निवास महाराजगन्ज पुगेका थिए । जहाँ देउवासँगै पत्नी आरजु र ओलीसँगै पत्नी राधिका भएको संयुक्त तस्बिर सार्वजनिक भयो । त्यसबाहेक देउवा र ओलीबिच संवाद भएको छुट्टै तस्बिर पनि सार्वजनिक भयो । भन्नेहरूले राष्ट्रिय सभा निर्वाचनको सहकार्यका लागि आएको दाबी गरिरहेका छन् । ओलीले राष्ट्रिय सभा मात्र नभई आवधिक निर्वाचनमा नै सहकार्य गर्ने प्रस्ताव गरेका थिए ।

कांग्रेस सभापति देउवा स्वास्थ्यका कारण उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएर आराम गरेर बसेका छन् । तर, पछिल्लो समय पार्टीभित्रको विवाद मिलाउनमा भने उनले सक्रिय रूपमै भूमिका खेलिरहेका छन् । ओली भने एमालेको अध्यक्षकै रूपमा सक्रिय छन् । उनले विभिन्न राजनीतिक भेटवार्ता र संवादहरूलाई निरन्तरता दिएकै छन् ।

देउवा–ओलीबिचको यो भेट संसद् पुनस्र्थापना, सरकारद्वारा घोषित फागुन २१ को निर्वाचन र माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनसँग सम्बन्धित थियो । ओली र देउवाबीच भएको भेटघाटपछि कांग्रेसपनि संसद् पुनस्र्थापनाको मुद्दा लिएर सर्वोच्च अदालतमा पुगेको छ । ओलीले आफू कमजोर हुने भएपछि काँग्रेसलाई पनि संसद् पुर्नस्थापानको मुद्रामा सर्वोच्चमा धकेलेका छन् । ओली–देउवाको भेट राष्ट्रिय सभा निर्वाचन र फागुन २१मा हुने संघीय संसदको निर्वाचनबारे कुराकानी भएको काँग्रेसका नेताहरूले स्वीकार गरेका छन् ।

यसपल्ट ओली राजनीतिक मुद्दामा एक्लो थिए, काँग्रेसलाई पनि संसद् पुनस्र्थापनाको पक्षमा सर्वोच्च पु¥याएपछि बलियो भएका छन् । प्रधानमन्त्री सुशीला कार्की सरकारले गठन गरेको जेनजी आयोगले ओलीलाई बयानका बोलाउने तयारी गरेको छ । ओलीले आयोगलाई अस्वीकार गर्दै आएका छन् ।

सरकारले पक्राउ गरेर भएपनि आयोगमा ल्याउने प्रयास गरिरहँदा संसद् पुनस्र्थापना भएमा यी सबै अवस्थाबाट ओली बच्नेछन् । ‘ओलीले आफू तल पर्ने कुनै पनि काम गरिरहेका छैनन्, कांग्रेस सभापति देउवालाई पनि कन्भिन्स गरिरहेका छन्, कांग्रेस महाधिवेशनको संघारमा उभिएका बेला संसद् पुनस्र्थापना गराएर काँग्रेसलाई सरकारमा अलमल्याउने र आवधिक निर्वाचनमा सहकार्य गरेर जाने गरी ओलीले कार्ययोजना बनाएको दखिन्छ’, ओली निकट रहेका एक पदाधिकारीले दृष्टिसँग भने । देउवालाई भेटेर आएपछि ओलीले निर्वाचनमा एमालेले बहुमत ल्याउने भाषण गरेका थिए ।

आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनबाट एमाले सरकारमा आउने ओलीको भनाइ थियो । शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले निर्वाचनपछि एमालेले सरकार बनाउने भएकाले आफूहरू सो निर्वाचनको पर्खाइमा रहेको बताएर एकाएक निर्वाचनको लागि एमाले तयार रहेको संकेत गरेका थिए । अध्यक्ष ओलीले एमालेलाई नदीसँग तुलना गर्दै सानातिना भाटा लगाएर निर्वाचनपछि सरकार बन्नबाट कसैले रोक्ने नसक्ने बताउँदै अबको चुनावबाट आउने सरकार नेकपा एमालेको हो । तिनै पुराना पार्टी आउने हो भनेर भन्छन् । अरू आउँछन् आउँदैनन् म जान्दिन तर एमाले आयो आयो भनेर चुनावको संकेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्