
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा दुई हजार ६ सय १३ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।
जसमध्ये २ हजार १५४ जना प्रत्यक्ष निर्वाचित भएर आउने छन् भने एकसय ८ जना प्रतिनिधि केन्द्रबाट मनोनित हुनेछन् । मनोनितसहित प्रतिनिधिको संख्या २ हजार २ सय ६२ जना हुने संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले जानकारी दिए ।
उनका अनुसार तत्कालिन नेकपा एसलाई लक्षित गरेर एमालेले सुरु गरेको ‘घरफर्क अभियान’बाट आउने मध्येबाट समेत तीन जनाले प्रतिनिधि हुन पाउँ भनी निवेदन दिएका छन् । उनीहरुको विषयमा पार्टी सचिवालयले निर्णय गर्ने विभागले जनाएको छ ।
अधिकारीका अनुसार प्रतिनिधि छनौटमा धनकुटा र ओखलढुंगा जिल्लामा देखिएको समस्या पनि समाधान भइसकेको छ ।
प्रतिनिधि निर्वाचित भएर आएका कतिपयको हकमा पनि मापदण्ड नपुगेको भन्ने उजुरी र गुनासोका आधारमा छानविन भइरहेको छ ।
एमालेको महाधिवेशन बन्द शत्र हलमा प्रतिनिधिबाहेक थप ३ सय ५१ जना सदस्य सहभागीका रुपमा प्रवेश गर्दैछन्। उनीहरु सल्लाहकार परिषद्का सदस्यहरु हुन्।
सल्लाहकार परिषदमा ३ सय ७६ जना सदस्य रहेकोमा २५ जना प्रतिनिधि निर्वाचित भएर आएका छन्। प्रतिनिधि हुन नसकेकाहरुलाई महाधिवेशनमा सहभागीका रुपमा प्रवेश गर्ने व्यवस्था मिलाइएको एमालेले जनाएको छ ।प्रति निधि र सहभागी गरी महाधिवेशनमा २ हजार ६ सय १३ जना सहभागी हुनेछन्।
विभागले दिएको जानकारी अनुसार महाधिवेशन प्रतिनिधिहरुको परिचय पत्र छपाइको काम पनि धमाधम भइरहेको छ । हालसम्म ७० प्रतिशत कार्ड छपाई सकिएको केन्द्रीय कार्यालयले जनाएको छ ।











