काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको घटना जाँचबुझ आयोगमा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालको बयान सुरु भएको छ । आयोगले बयानका लागि मङ्गलवार आउन पत्राचार गरेको थियो । बयानका लागि आईजीपी अर्याल आयोगको कार्यालय सिंहदरबार पुगेका हुन् ।

यसअघि सशस्त्र प्रहरी र नेपाल प्रहरीका एआईजीसँग बयान भएको थियो । यस्तै आयोगले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई बयानका लागि बोलाउने तयारी गरेको छ । भदौ २३ गते जेनजी आन्दोलनको पहिलो दिन ठूलो मानवीय क्षति भएपछि २४ गते बिहानै कार्कीलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा खटाइएको थियो ।
यसअघि आयोगले दुवै प्रहरीका फिल्ड कमाण्डरहरुको बयान लिइसकेको छ । आईजीपी कार्कीको बयानपछि गृहसचिवलाई बोलाउने आयोगको तयारी छ । त्यसपछि पूर्व गृहमन्त्री रमेश लेखक र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाइने आयोगले जनाएको छ ।
ओलीले भने सार्वजनिक रूपमै आयोगमा बयान दिन नजाने बताउँदै आएका छन्। आयोगले ओली र लेखकसहितलाई विदेश जान तथा काठमाडौँ उपत्यका छाड्न पनि आयोगले प्रतिबन्ध लगाएको छ।











