Logo
Logo

देशभरका भन्सार कार्यालय ठप्प


630
Shares

काठमाडौँ । कर्मचारीहरूले विरोध गर्दा देशभरकार भन्सार कार्यालयमा काम ठप्प भएको छ। भन्सार एजेन्ट महासंघ नेपालको आह्वानमा मंगलबार कर्मचारीहरू कलम बिसाएर (पेन डाउन) विरोधमा उत्रिएपछि भन्सार जाँचपासको काम ठप्प भएको हो ।

विस २०८२ मंसिर २१ गतेदेखि लागू भएको भन्सार ऐन, २०८२ का केही प्रावधानको विरोधस्वरूप महासंघले मुलुकभर भन्सार सेवा अवरुद्ध गरेको छ ।

महासंघकाअनुसार नयाँ ऐनका प्रावधानले अन्तर्राष्ट्रिय व्यापार तथा भन्सार प्रक्रियालाई सहज बनाउने भन्दा उल्टो भन्सार एजेन्टको पेशागत अधिकार, उद्योग–व्यवसाय र वैध व्यापारलाई नै हतोत्साहित गर्ने अवस्था सिर्जना भएको छ।

भन्सार ऐन, २०८२ को मस्यौदा तयार पार्ने चरणदेखि नै महासंघले दण्ड–जरिवाना, इजाजतपत्र नविकरण, निलम्वन प्रक्रिया, बैंक जमानत, कम्प्युटर प्रणालीमा युजर–आइडी व्यवस्थापन, इन्कुट–आउट नोट प्रणाली, र मालवस्तु जाँचपासलाई इजाजत प्राप्त भन्सार एजेन्टमै सिमित गर्ने लगायतका विषय समावेश गर्न माग गर्दै आएको थियो।

तर लागू भएको ऐनले अनावश्यक दण्ड–जरिवाना थपेको र तजबीजी अधिकार बढाएको महासंघले आरोप लगाएको छ।

महासंघले भन्सार जाँचपासमा निरन्तर देखिने ढिलासुस्ती, भन्सार स्वचालन प्रणालीका सर्भर समस्या, राजश्व भुक्तानी र क्वारेन्टाइनका जटिलता सम्बन्धमा भन्सार विभागलाई बारम्बार ध्यानाकर्षण गराए पनि समस्याको समाधान नभएको आरोप गरेको छ।

पेनडाउन आन्दोलन आइतबारदेखि वीरगञ्ज भन्सारबाट सुरु भएको थियो। दोस्रो दिन सोमबार भैरहवा भन्सार पूर्णरूपमा ठप्प रह्यो भने तेस्रो दिन मंगलबार देशभरका सम्पूर्ण भन्सार कार्यालयका सेवाहरु बन्द गरिएको महासंघका केन्द्रिय सदस्य उमेश घिमिरेले जानकारी दिए।

जाँचपास रोकिँदा मुलुकभरका भन्सार कार्यालयबाट राजश्व असुलीमा प्रत्यक्ष असर परेको छ।

प्रतिक्रिया दिनुहोस्