काठमाडौं । गत भदौ २३/२४ गतेको जेनजी आन्दोलनलाई भड्काएको आरोपमा पक्राउ परेका टीओबी समूहका तेन्जिन दावा विरुद्ध मुद्दा दर्ता भएको छ । करिब ३ महिना लामो अनुसन्धानपछि जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान फाइल जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले तेन्जिन विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

दावाविरुद्ध अहिले लागुऔषधको कसुरका साथै लिखत कीर्तेसम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ । उनको कोठाबाट गाँजा बरामद भएकाले लागुऔषधको कसुरमा पनि मुद्दा चलाइएको हो ।
त्यसैगरी उनीबाट प्राप्त नागरिकता, राहदानी राष्ट्रिय परिचयपत्र समेत किर्ते भेटिएकाले लिखत सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ । गलत विवरण पेस गरेर तेन्जिनले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएको, त्यही नागरिकताको आधारमा राष्ट्रिय परिचय बनाएको राहदानी बनाएको आरोप छ ।
जसअनुसार उनीविरुद्ध नागरिक किर्ते, राहदानी किर्ते र राष्ट्रिय परिचय पत्र किर्ते कसुरमा मुद्दा दायर गरिएको हो ।
तिब्बतीयन मुलका तेन्जिनले आफ्नो नागरिकतामा बाबुको नाम कृष्णबहादुर लामा उल्लेख गरेका थिए । तर बाबु भनिएका व्यक्तिले समेत तेन्जिनलाई नचिन्ने बताएपछि नागरिकता गलत विवरण पेश गरेर लिएको प्रहरी अनुसन्धानबाट खुलेको हो ।
उनीविरुद्धको मुद्दा न्यायाधीश तेजबहादुर खड्को इजलासमा परेको छ । बयान सकिएपछि थुनचेक बहस हुनेछ ।
यसअघि उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाइएको थियो । त्यतिबेला उनी काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट ७ हजार ५ सय धरौटी माग भएको थियो । तर लागुऔषध र कीर्तेको अनुसन्धान जारी रहेकाले प्रहरीले उनलाई हिरासतमै राखेको थियो ।
जेनजी आन्दोलनमा घुसपैठ गरेको आरोपमा अनुसन्धान तानीएको टीओबी समूहको साइनो फ्रि तिब्बतसँग नभएको प्रहरीले निष्कर्ष निकालेको छ । तीन महिना लामो अनुसन्धानपछि यो समूहको फ्री तिब्बतसँग कुनै साइनो नरहेको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनका बेला टीओबीको सक्रियतासँगै उत्तरी छिमेकी चीनले समेत नेपाल सरकारसँग यससम्बन्धी बाहिरिएका सूचनाबारे आफूहरूले ‘केयरफुल अब्जरभेसन’ चलाइरहेको भन्दै छानबिनको प्रगतिबारे चासो राखेको थियो । चिनियाँ चासोपछि सरकारले अनुसन्धान चलिरहेको अनि छिटै सत्यतथ्य बाहिर आउने जवाफ दिएको थियो ।
२६ असोजमा यो समूहका मुख्य व्यक्ति तेन्जिन दावा लामालाई पक्राउ गरी अनुसन्धान गरेको प्रहरीले तेन्जिन बाहेक यसका अन्य सदस्यसमेत तिब्बती मूलका नरहेको बताएको छ । टीओबी (तिब्बती ओरिजिनल ब्लड) लेखेको टिसर्ट लगाउने व्यक्ति पनि तेन्जिन बाहेक अरू फेला नपरेको प्रहरीले जनाएको छ ।
यो समूहका अन्य सदस्यहरूले टीओबीलाई द ओरिजिनल ब्रदर्सको रूपमा लिने गरेको प्रहरीको निष्कर्ष रहेको छ । गत २३ र २४ भदौमा भएको बुलेट बाइक पड्काउँदै हिँडेको यो समूहले बाइकर्स ग्रुपकै समूह रहेको प्रहरीले भनाइ छ ।











