Logo
Logo

ओलीलक्षित राजेन्द्रको टिप्पणी- मैले पहिल्यै भनेको थिएँ होलिकोप्टरमा भाग्नुपर्ला


441
Shares

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजा र राजनीतिक दलहरुको बिचमा नयाँ समझदारी गरेर जानुपर्ने दोहो¥याएका छन् ।

मंगलबार शान्तिबाटिकामा आयोजित पार्टीको कार्यक्रममा लिङ्देनले दलका नेताहरुलाई आफूले पहिल्यै भाग्नुपर्ने दिन आउनसक्नेतर्फ सचेत गराएको उल्लेख गर्दै अहिलेसम्मका अभ्यासले नै गणतन्त्र ठीक नभएको पुष्टि गरेको दाबी गरे।

राजा र राजनीतिक दलहरुको बिचमा नयाँ समझदारी गर्नुपर्ने आफूहरुको धारणलाई दलहरुले ठट्टामा उडाएकाले अहिलेको अवस्था आएको उनको भनाइ छ।

‘देश तपाइँले सोचेको जस्तो अवस्था छैन भाग्नुपर्छ। भाग्न तयार हुनुस् भनेको मैले। ‘हामी बुढाहरु कहाँ भाग्न सक्छौँ ? तिमीहरु बरु अलि कुद्न सक्छौ होला, तिमीहरु नै भाग्न तयार हुनु। यत्रो थोत्रो संस्था देखाएर हामीलाई भाग भन्ने भनेर प्रतिवाद गर्नुभयो,’ एमाले अध्यक्ष केपी ओलीतर्फ लक्षित गर्दै लिङ्देनले भने, ‘कहिँ चेत खुल्छ कि भनेर मैले भनेँ– भाग्न सकिँदैन भने हेलिकोप्टर प्रयोग गर्नुपर्ने दिन आउँछ, हेलिकोप्टरको सुविधासम्म पाउनुहुन्छ भनेको थिएँ।’

अध्यक्ष लिङ्देनले भदौमा भएको जेनजी आन्दोलनको मर्मलाई लत्याउँदै त्यसको दुई दिन नबित्दै प्रतिगमन भएको टिप्पणी पनि गरे । उनले व्यवस्थामा रहेका त्रुटिहरू नसच्चाई केवल चुनावमा जानुले समस्यालाई पर धकेल्ने काम मात्र गर्ने बताए ।

उनले भने, ‘जनताको आक्रोश केवल त्यसबेलाको प्रधानमन्त्री केपी ओलीलाई हटाएर सुशीला कार्कीलाई सडकबाट टिपेर बालुवाटार वा सिंहदरबारमा राख्नका लागि मात्रै भएको थिएन ।’

उनले यो विद्रोह देशमा शान्ति, स्थायित्व र युवाले आफ्नै देशमा गरिखाने वातावरण निर्माणका लागि भएको जिकिर गरे। विगतमा राजा र राजनीतिक दलहरूबीच नयाँ समझदारी आवश्यक रहेको बताउँदा दलहरूले मजाक बनाएको उनले स्मरण गरे।

अध्यक्ष लिङ्देनले अहिलेकै व्यवस्था र प्रणालीमार्फत गरिने चुनावले समस्याको समाधान नदिने भन्दै आक्रोश पोखे । उनले भने, ‘जेनजी आन्दोलनको दुई दिन नबित्दै प्रतिगमन भयो। उही निर्वाचन, व्यक्ति परिवर्तन मात्रै भयो। यो समस्याको समाधान होइन।’

देशलाई भूराजनीतिको चक्रब्युहबाट मुक्त गर्नका लागि चुनावअघि नै राजा, राजनीतिक दल र जेनजीबीच नयाँ समझदारी कायम गर्न आवश्यक रहेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्