काठमाण्डौ । अन्तरिक्ष प्रतिष्ठान नेपालका इन्जिनियरहरूको मार्गदर्शनमा चितवनका चेपाङ विद्यार्थीहरूले तयार पारेको स्याटेलाइट ‘स्लिपर्स टु स्याट’ भोलि चीनबाट प्रक्षेपण हुने भएको छ।

नेपाली समय अनुसार भोलि बिहान पौने ९ बजे प्रक्षेपण तय गरिएको अन्तरिक्ष प्रतिष्ठान नेपालले जनाएको छ। नेपाली स्याटेलाइट आइतबार नै चिनियाँ रकेट ‘काइनेटिका वन’ मा इन्टिग्रेट गरिएको थियो।
१ किलो २० ग्राम तौलको यस स्याटेलाइटमा जडित दुई क्यामेराले नेपालका वनस्पति तथा जलस्रोतसम्बन्धी जानकारी संकलन गर्नेछन्। साथै भूकम्पको पूर्वसूचना अध्ययन गर्ने प्रविधि पनि समावेश गरिएको छ। पृथ्वीको कक्षामा रहँदै यसलाई यहीँबाट नियन्त्रण तथा दिशा परिवर्तन गर्न सकिने प्रणाली समेत छ।
यसमा पहिलेका ‘नेपाली–स्याट वन’ र ‘मुनाल’ उपग्रहले प्रयोग गरेको प्रविधिलाई अझ उन्नत बनाइिएको छ, जसले क्यूबस्याटभित्र थप अनुसन्धान तथा अन्य उद्देश्यका कामका लागि पर्याप्त स्थान उपलब्ध गराउँछ । प्राकृतिक प्रकोपका बेला आवश्यक तथ्याङ्क संकलन र प्रसारणमा यो मिसनले महत्वपूर्ण सहयोग गर्ने अपेक्षा गरिएको छ।

एमेच्योर रेडियो डिजिटल कम्युनिकेशनको सहयोगमा सञ्चालन भएको परियोजनामा चितवनका चेपाङ समुदायका कक्षा ७ र ८ का ९ विद्यार्थी तथा अन्तरिक्ष प्रतिष्ठान नेपालका छ इन्जिनियर सहभागी थिए।











