Logo
Logo
एमाले ११औँ महाधिवेशन

आँफू ‘कमजोर’ भएपछि ओलीका अनेक खेलः सर्वसम्मतको खोजीदेखि विधान संशोधनको प्रयाससम्म


4.2k
Shares

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशन अब पाँच दिन मात्र बाँकी छ । अध्यक्ष केपी शर्मा ओलीलाई परास्त गर्ने उद्देश्यसहित पार्टीभित्रको एउटा बलियो समूह खुला मैदानमा उत्रिएको छ ।

ओलीविरुद्ध वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्रतिस्पर्धामा उत्रिने सुनिश्चित भइसकेको छ । ओली भने विधान संशोधनमार्फत तेस्रो कार्यकाल सुनिश्चित गर्ने रणनीतिमा छन् । त्यहीबेला, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको साथ पाएका पोखरेल ओलीलाई जसरी भए पनि हराउन केन्द्रित देखिन्छन् । सोमबारदेखि नै पोखरेल पक्षको गतिविधि स्पष्ट रूपमा तीव्र भएको छ ।

सोमबार होटल हार्दिकमा उपाध्यक्ष युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे र सचिव योगेश भट्टराईले ओलीविरुद्ध औपचारिक रूपमा ‘फायर’ खोले । मंगलबार त्यही होटलमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे, केन्द्रिय सदस्य उषाकिरण तिम्सेना, शर्मिला कार्की, रचना खड्का, सरिता न्यौपानेलगायत नेतृहरूले पनि ओलीविरुद्ध कडा अभिव्यक्ति दिए । यी दुई दिनको गतिविधिले पोखरेलले नै यी नेताहरूलाई ओलीविरुद्ध उभ्याएका हुन् भन्ने प्रस्ट भएको छ ।

ज्ञवाली र पाण्डेले ओलीले नयाँ मान्यता स्वीकार्न नसकेपछि आफूहरूले प्रतिस्पर्धाको ‘ब्याटल’ रोजेको बताए । पार्टी नेतृत्वका बेथिति र परम्परागत नेतृत्व शैलीले अब पार्टी नचल्ने निष्कर्षसहित उनीहरूले अवधारणापत्र पनि बुझाएका छन् ।

मंगलबार पनि अष्टलक्ष्मी शाक्यले ओलीले महिलाप्रति गरेको व्यवहार अस्वीकार्य भएको बताइन् । उषाकिरण तिम्सेनाले ओलीको योगदानभन्दा पोखरेलको योगदान कम नभएको दाबी गरिन् ।

जेनजी आन्दोलनपछि एमालेमा दबाब
एकातिर जेनजी आन्दोलनको ताजा सन्देश छ, अर्कोतिर पार्टीभित्र आलोचकहरूलाई दबाउन ओलीको कडा स्वभावका कारण धेरै असन्तुष्ट देखिन्छन् । यही पृष्ठभूमिमा महाधिवेशन अत्यन्त पेचिलो बन्दै गएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले रिङबाहिरबाट पोखरेल पक्षलाई साथ दिइरहेकी छन् । प्रतिनिधि छनोटमा असन्तुष्टि, ओलीप्रतिको नाकारात्मक धारणा, उनको विवादित नीति, अलोकप्रिय अनुहार र अन्तर्राष्ट्रिय परिवेशसम्म सबै ओलीविरुद्ध प्रतिकूल मानिन्छन् । यिनै कारणले पोखरेल पक्षले यो महाधिवेशनलाई ‘अनुकूल युद्धभूमि’ ठानेको छ ।

ओलीप्रति नकारात्मक धारणा बढ्दै
महाधिवेशनलाई पेचिलो बनाउने अर्को कारण ओली टिमका विवादास्पद अनुहार हुन्, महेश बस्नेतदेखि सूर्य थापासम्म । यी नेताहरूको आक्रामक र कठोर छवी ओलीका लागि बोझ बन्न सक्ने आकलन छ ।

नम्र स्वभावका प्रदीप ज्ञवालीबाहेक ओली पक्षका धेरै नेता आक्रामक मानिन्छन्, जबकि पोखरेल पक्ष सौम्य र संवादमुखी छवि लिएर अघि बढिरहेको छ ।

प्रतिनिधि विवादले खेल झनै जटिल
२२ सय महाधिवेशन प्रतिनिधि चुनावी नतिजाको मुख्य निर्णायक शक्ति हुन् । तर, यसपटक प्रतिनिधि छनोटमै विवाद छ । धनकुटा, ओखलढुंगा, उदयपुर, दाङ, कैलालीलगायत जिलानमा विवाद हुँदै आएको छ ।

उपमहासचिव विष्णु रिमालले आँकडासहित ओली दुईतिहाइ मत ल्याएर जित्ने दाबी गरे पनि पार्टीभित्रैबाट ६–७ सय मत पोखरेलतिर जाने चर्चा छ । जेनजी आन्दोलनको ताजा प्रभावले पनि प्रतिनिधिहरू ओलीविरुद्ध मतदान गर्न सकेको अनुमान गरिन्छ ।

ओली सर्वसम्मतको खोजीमा
प्रतिस्पर्धा चर्किंदै जाँदा ओली विभिन्न विकल्पसहित सर्वसम्मत नेतृत्व बनाएर निक्लिने कसरतमा जुटेका छन् ।

उनी पदाधिकारी बढाउने, स्थायी कमिटी पुनःजागरण गर्ने, केन्द्रीय कमिटी २५१ बाट ३५१ पुर्‍याउने, नयाँ क्लस्टर थप्नेजस्ता उपायमा केन्द्रित छन् ।

विधान महाधिवेशनले १५ पदाधिकारी र २५१ केन्द्रीय समिति तोके पनि ओली पक्षले फेरि १९ पदाधिकारी, स्थायी कमिटी पुनर्जीवन र दुईवटा नयाँ क्लस्टर (युवा र ‘घर फर्क’ अभियान) थप्ने तयारी गरेको छ ।

२०७८ मा एकीकृत समाजवादीतिर गएका २५ भन्दा बढी नेताहरू पुनःएमाले फर्किइसकेकाले उनीहरूलाई पनि आयोजकसरह प्रतिनिधि बनाउने तयारी छ ।

मंसिर २७-२९ मा हुने महाधिवेशन नजिकिँदै जाँदा पदाधिकारीमा आकांक्षीको ठूलो भीड देखिएको छ । ५० भन्दा बढी नेता विभिन्न पदमा दौडधुपमा छन् ।

२०७८ मा पनि विधान संशोधनमार्फत पद बाँडफाँड गरिएको थियो । र, यो पटक पनि ओली त्यही अभ्यास दोहोर्याउन लागेको आरोप पोखरेल पक्ष लगाइरहेको छ ।

यसपटक पोखरेल पक्षले भने विधान महाधिवेशनले तोकेको संरचना फेरबदल गर्न नहुने भन्दै ओलीको प्रस्ताव अस्वीकार गर्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्