काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आडमा वरियता मिचेर बढुवा भएका राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीले आफूलाई असहयोग गरेको भन्दै केही डिआइजीलाई पेल्न थालेका छन् । राष्ट्रिय अनुसन्धान विभागको एआइजी पदका लागि बढुवा प्रक्रिया अघि बढाउन लाग्दा उनले डिआइजी ओम खड्कालाई भन्दा कृष्ण ढकाललाई च्याप्न थालेपछि यस्तो संकेत देखिएको हो ।

विभागमा एआइजी आंकाक्षीहरुबीच रस्साकस्सी सुरु भएका बेला प्रमुख कार्कीले डिआइजी खड्काले ओम जोशीलाई सहयोग गरेको भन्दै ढकाललाई च्यापेका हुन् । वरियतामा कार्कीभन्दा जोशी अघि भएपनि बढुवामा कार्कीले बाजी मारेका थिए ।
सरकारले विशेष सेवा नियमावली संशोधन गरेको निर्णयसँगै लामो समयदेखि रोकिएको विभागको बढुवा प्रक्रिया अघि बढ्ने तयारी भएपछि रिक्त रहेको एआइजीमा बढुवा प्रतिस्पर्धा सुरु भएको छ ।
गत साता बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत ऐन संशोधनपछि नियमावलीसमेत परिमार्जन गर्दै विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हटाई गृह मन्त्रालय मातहत ल्याएपछि रिक्त रहेको पदमा बढुवा हुन लागेको हो । एक पदको लागि अहिले नौ जना प्रतिस्पर्धी रहेका छन् ।
विभागमा साढे दुई महिनादेखि रिक्त रहेको एआईजी पद पूर्ति बाटो खुलेको विभागका एक अधिकारीले जानकारी दिए । टेकेन्द्र कार्की विभागीय प्रमुखमा बढुवा भएपछि रिक्त बनेको एआइजी पदका लागि नौ जना अनुसन्धान निर्देशकबीच प्रतिस्पर्धा रहेको छ । २०७९ भदौ २१ मा डिआइजी भएका ओम खड्का, कृष्ण ढकाल, राम दास, प्रजेश हमाल, भिम बुढाथोकीबीच नै प्रतिस्प्र्धा रहेको छ ।
वरियतामा अहिले खड्का अघि रहेका छन् । तर ढकालले बाजी मार्नसक्ने विभागका अधिकारीहरूले बताएका छन् त्यसैगरी २०७९ वैशाख ५ मा डीआईजी भएका किशोर श्रेष्ठ,संजय यादव, तथा २०७९ असार ११ मा डीआईजी भएका इन्द्रसिंह लामा,माधव तिमल्सिनाले पनि एआइजीको दावी गरिरहेका छन् ।
यसअघि विभागीय प्रमुख नियुक्तिमा नै सिनियरिटी बेवास्ता गरिएको भन्दै आलोचना भएको थियो । एआईजी पद पूर्ति भएसँगै विभागमा तल्लो तहसम्म श्रृंखलाबद्ध बढुवा गर्ने तयारी गरिएको छ। ‘रोकिएको बढुवा प्रक्रिया फुकुवा भएको छ,’ विभागका ती अधिकारीले भने ‘केही दिनमा नयाँ पदमा नयाँ व्यक्तिको बढुवा हुनेछ ।’ विभागका अनुसार अहिले दुई दर्जन पदमा एकै साथ बढुवा गर्ने र करिब दुई सय जना अनुसन्धान अधिकृतहरु भर्ना गर्ने तयारी भैरहेको छ । लोकसेवा आयोग पास गरेर विभागमा जागिर खाइरहेकाले यतिबेला अर्को सरकारी निकाय परराष्ट्र र सामान्य प्रशासनमा नाम निकालेर हिडिरहेका कारण विभागले दुई अनुसन्धान अधिकृतहरूको लागि विज्ञापन गर्ने तयारी गरेको हो ।











