Logo
Logo

वरिष्ठ कामविहीन, कनिष्ठलाई भारी


0
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा पाँचजना वरिष्ठ कर्मचारीहरू रहेका छन् । १२औँ तहमा कार्यरत रहेका उनीहरू उपमहानिर्देक तहमा कार्यरत छन् । उनीहरू सबै प्राविधिक हुन् । वर्षौँदेखि त्यही काम गरेका र अनुभवी कर्मचारीहरू हुँदाहुँदै पर्यटन मन्त्रालयमा कार्यरत रहेका सहसचिवलाई अतिरिक्त जिम्मेवारी दिइएको छ । अतिरिक्त जिम्मेवारी लिएका कर्मचारीलाई मन्त्रालयको कार्यबोझ पनि उत्तिकै रहेको छ ।

पर्यटन मन्त्रालयका सहसचिव मुकेश डंगोलले यतिबेला प्रशासनको समेत जिम्मेवारी सम्हालिरहेका छन् । प्रशासनको जिम्मेवारी लिएका डंगोललाई अतिरिक्त भारीले थिचेको छ । क्यानमा १२औँ तहका पाँचजना अधिकारी हुँदाहुँदै मन्त्रालयबाट डंगोललाई निमित्त महानिर्देशकको भूमिकामा खटाइएपछि जुनिएरलाई हाकिम मान्नुपर्ने भन्दै असन्तुष्टि देखिएको छ । 
क्यानमा कार्यरत पाँचजना अहिले अतिरिक्त सचिव सो सरहमा कार्यरत छन् । डंगोल भने ११औँ तहका कर्मचारी हुन् ।

क्यानका महानिर्देशक (डिजी) प्रदिप अधिकारी भ्रष्टाचार मुद्दामा अख्तियारको हिरासतमा रहेका छन् । उनी निलम्बनमा परेपछि सरकारले डंगोललाई खटाएको छ । डंगोललाई भने प्रधानमन्त्री तथा विभागीय मन्त्रीस्तरको निर्णयअनुसार प्राधिकरणको कार्य सञ्चालनका लागि अर्को व्यवस्था नभएसम्म खटाइएको हो । प्रधानमन्त्रीको स्वकीय सचिवालयमा कार्यरत एक कर्मचारीका कारण डंगोललाई जिम्मेवारी दिइएको स्रोतले दृष्टिलाई बतायो । 

क्यानको १२औँ तहमा प्रतातबाबु तिवारी, देवचन्द्रलाल कर्ण, हंसराज पाण्डे, प्रेमनाथ ठाकुर, जगन्नाथ निरौला रहेका छन् । यिनीहरूलाई जिम्मेवारी नदिई मन्त्रालयबाट ११औं तह सरहका सहसचिव डंगोललाई अर्को व्यवस्था नभएसम्मका लागि खटाइएपछि मन्त्रालय तथा क्यानमा कर्मचारीहरूले स्वीकार गर्न कठिनाइ भएको छ । क्यानको डिजी बन्न वरिष्ठ तिवारीलाई कर्ण र निरौलाले रोक्ने प्रयास गरेपछि डंगोललाई पठाइएको बताइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखा प्रमुख बुद्धिसागर लामिछाने वाइडबडी विमान प्रकरणमा विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएपछि डंगोलले उक्त महाशाखा हेर्दै आएका छन् । उनले क्यानको समेत थप जिम्मेवारी पाएका हुन् । 
 
मुकेश सहसचिव हुनुभन्दा पहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नागरिक उड्डयन महाशाखा अन्तर्गतको हवाई सुरक्षा तथा दुर्घटना जाँच शाखामा ए.टी.सी. अफिसरको रूपमा कार्यरत थिए । उक्त समूहको सहसचिव नभएपछि प्रशासन कै सहसचिवका रूपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्