काठमाडौं । पूर्वउर्जामन्त्री दीपक खड्कालाई सम्पत्ति शुद्धिकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोग दुवैले एकसाथ छानबिन अघि बढाएका छन् । अख्तियारले उर्जाक्षेत्रमा गरेको ठेक्का अनियमिता र विभागले अकुत सम्पत्ति आर्जनबारे एक साथ छानबिन अघि बढाएको हो । पदीय दुरुपयोग गर्दै अवैध चेकको कारोबार, कर्मचारी सरुवा बढुवामा रकम असुली तथा भ्रष्टाचार गरेको उजुरीका आधारमा अख्तियारको छानबिन चलिहरेका बेला अख्तियारकै पत्रमा विभागले अकुत सम्पत्ति आर्जनबारे पनि छानबिन थालेको हो ।

अख्तियारमा जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्कामा कमिसनवापत लेनदेन भएको चेकको फोटोसहित उजुरी परेको थियो । अख्तियारले सोही विषयमा अनुसन्धान अघि बढाउँदै लैजाँदा कर्मचारी सरुवा बढुवा पनि कमिशन लिएकोमा थप छानबिन गरिरहेको छ । खड्काको हकमा सतर्कता केन्द्रले पनि छुट्टै प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको र सोप्रतिवेदन पनि अख्तियार पठाइएको स्रोतको दाबी छ ।
खड्काकै मिलेमतोमा जगदुल्ला आयोजनामा माउन्टेन इन्फ्रा कम्पनीले भारतीय कम्पनी पटेल इन्जिनियरिङलाई दिएको तीन करोडको चेक ठेक्काको कमिसनमा बाँडफाँट भएको खुलेपछि उनको विरुद्धमा उजुरी परेको हो ।
जगदुल्लामा आयोजना प्रमुख सञ्जय सापकोटालाई ठेकेदार कम्पनीका एजेन्टहरूसँग भेटघाट गराई खड्काले मन्त्रालयमै बसेर कमिसनबापतको चेकको लेनदेन गराएका थिए ।‘१०६ मेगावाट क्षमताको डोल्पामा बन्ने जगदुल्ला हाइड्रोपावर कम्पनीको ठेक्कामा खड्काले अनुकूलको कम्पनीलाई ठेक्का दिलाउन मन्त्रालयमा नै बोलाएर अन्य कम्पनीहरूलाई चेक दिएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ’, स्रोतले भन्यो ‘आयोजना प्रमुख सापकोटाको बयानपछि खड्कालाई पनि बोलाइनेछ ।
खड्काले हाई हिमालय हाइड्रोका मालिक किरण मल्लसँग बिचौलिया अरुण केसीमार्फत सिक्टा आयोजनाको कमिसन लिएकोसमेत उजुरीमा दाबी गरिएको छ । मन्त्री हुँदा सिँचाइका कर्मचारीको सरुवामा घुस लिएको तथा नेपाल स्काउटको जग्गाको भाडा नतिरेको र अस्वाभाविक रूपमा अर्बको सम्पत्ति जम्मा गरेको भन्दै छानबिनको पनि माग गरिएको छ । यसअघि पनि खड्काविरुद्ध घुस लेनदेनसम्बन्धी विवादमा उजुरी परेको थियो । खड्कामाथि हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि छानबिन गरिरहेको बुझिएको छ ।
पूर्वमन्त्री खड्का मन्त्री र सांसद तथा व्यापारीका रूपमा रहँदा शङ्कास्पद कारोबार र गतिविधिमा संलग्न रहेको आरोप लागे पनि यसअघि अनुसन्धानको दायरा बाहिरै थिए । ऊर्जामन्त्री हुँदा स्वार्थ समूहलाई जलविद्युत् आयोजनाको लाइसेन्स बाँड्न आर्थिक चलखेल गरेको, आर्थिक स्वार्थकै लागि विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङसँग मनमुटाव गरेको, नेपाल स्काउटको जग्गा दुरुपयोग गरेकोलगायत विवादमा उनी तानिएका थिए । आफ्नो होटलमा लगेर संसदीय समितिको बैठक बसाली स्वार्थप्रेरित कानुन निर्माणमा चलखेल गराएको आरोप पनि खड्कामाथि छ । उनी आफैँ पनि जलस्रोतसम्बद्ध व्यापारी हुन् । स्वार्थ बाझिने गरी खड्कालाई नै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनाएकामा आलोचना भएको थियो । तर तत्कालीन ओली सरकारले उनलाई संरक्षण गरेका थिए ।











