Logo
Logo

सहुलियत पसल सञ्चालनमा ल्याएको एक सातामा बोहनी समेत भएन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ असोज । दशैँ र तिहार लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको एक साता भएपनि अहिलेसम्म एक जना ग्राहक आएका छैनन् । सहुलियतमा चामल बिक्री गर्ने कार्य सुरु गरेपनि हालसम्म बोहनीसमेत हुन नसकेको कार्यालयले जनाएको छ ।
शाखा प्रमुख विकास कटुवालका अनुसार स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ६५ मा पाउने चामलमा रु पाँच सहुलियत दिइएको छ । पसलबाट एक उपभोक्तालाई बढीमा ५० किलोसम्म चामल उपलब्ध गराइने छ । मंसिर ६ गतेसम्म सञ्चालनमा रहने उक्त सहुलियत पसलबाट २०० क्विन्टल चामल बिक्री गर्ने लक्ष्य लिइएको सूचना अधिकारी मुनिलाल कुशवाहले बताए । सो सहुलियत पसलमा २५ किलोको र १० किलोको गरी दुईथरीका चामलका प्याकेट राखिएको छ ।
उपभोक्ताको माग भएअनुसार पछिपछि अन्य खाद्यान्न तथा तेलसमेत राखिने बताइएको छ । सो चामल बिक्रीको बजार दर तथा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बेच्न राखेको चामलको भाऊ उस्तै, उस्तै भएकाले उपभोक्ता आकर्षित हुन सकेका छैनन् । गत वर्ष सो कार्यालयले यही समयमा तीन क्विन्टल ४० केजीमात्र चामल बिक्री गर्न सकेको थियो ।

प्रतिक्रिया दिनुहोस्