
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवरण तत्काल पठाउन परपित्र गरेको छ ।
महामन्त्री गगन थापाले पुस २६ देखि २८ सम्म पार्टीको १५औँ महाधिवेशन गर्ने निर्णय भएको जानकारी गराउँदै नवीकरण नभएका र विवरण पठाउन क्रियाशील सदस्यताको विवरण तत्काल पठाउन भनेका हुन् ।
‘क्रियाशील सदस्यता नवीकरण नभएका र विवरण पठाउन बाँकी रहेका जिल्लाले अविलम्ब तहगत समन्वय गरी नवीकरण विवरण संकलन गरी वडादेखि जिल्ला कार्यसमितिको बैठकको निर्णयसहित नवीकरणको सूचीको अन्तिम नामावली र केन्द्रलाई बुझाउनु पर्ने सदस्यता शुल्कसहित कार्यतालिकामा तोकिएको मितिभित्रै केन्द्रमा पठाइसक्नु पर्नेछ,’ परिपत्रमा भनिएको छ ।
निर्धारित मितिभित्र नवीकरणको सूची केन्द्रमा पठाएपश्चात् कुनै पनि कारणबाट नवीकरण सदस्यता छुट हुन गएमा त्यस्ता छुट भएका व्यक्तिको छुट्टै नामावली तयार गरी सोको निर्णयसहित पुस ३ गतेभित्रमा अनिवार्य केन्द्रमा पठाउनुपर्ने उल्लेख छ ।
पार्टी केन्द्रीय कार्यसमितिको बैठकले नयाँ क्रियाशील सदस्यता वितरणका सन्दर्भमा विधानबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई नै सिधै पठाउन निर्णय गरेकाले सबै प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा सदस्यता फारम पठाइएको परिपत्रमा उल्लेख छ ।











