काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

सञ्चारिका समूह नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको ‘लैङ्गिक हिंसा र सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तक्र्रियामा मन्त्री खरेलले डिजिटल हिंसाबाट जोगिन पत्रकार महिलाहरूको दोहोरो जिम्मेवारी रहने बताए । महिला साथीहरूको दोहोरो जिम्मेवारी रहने बताउँदै उनले ‘पहिला आफू सुरक्षित रहने’ र ‘यस क्षेत्रलाई सुरक्षित राख्ने’ रहेको उल्लेख गरे ।
“पहिला आफू सुरक्षित रहँदै यस क्षेत्रलाई पनि सुरक्षित राख्ने दायित्व महिला पत्रकारहरूमाथि छ । त्यसैले हाम्रा सामग्री, समाचार र विषयवस्तु र पैरवीहरू डिजिटल हिसाबबाट मुक्त गर्ने किसिमका हुनुप¥यो”, सञ्चारमन्त्री खरेलले भने । अहिले लैङ्गिक हिंसाको प्रवृत्ति र शैली परिवर्तन भएकाले त्यसबाट सुरक्षित रहेर डिजिटल हिंसाविरुद्धका अभियान सञ्चालन गर्न जरुरी भएको उनले उल्लेख गरे ।
“तपाईँ परिवारमाझ हुनुहुन्छ, आफू सुरक्षित रहेको अनुभूति गर्नुहुन्छ, तर तपाईँको मोबाइलमा आइरहेका सामाजिक सञ्जालका विभिन्न सामग्रीले असुरक्षित महसुस गराउनसक्छ । त्यसैले डिजिटल माध्यमबाट हुने हिंसाको बहस सुरु गर्नु अपरिहार्य छ । प्रविधिले सहजतासँगै त्रास पनि ल्याएको छ, यसको सही सदुपयोग गरिनुपर्छ”, मन्त्री खरेलले भने ।
मन्त्री खरेलले देश र समाज विस्तारै समतालाई आत्मसात् गर्दै समानताको बाटोमा अघि बढिरहेको बताउँदै आज हरेक हिसाबले महिलाहरू राजनीतिक, निजामती, पत्रकारितामा तथा समाजका विभिन्न पद र प्रतिष्ठामा आइराख्दा यसले सकारात्मक अर्थ र परिणाम दिएको उल्लेख गरे ।
सञ्चारमन्त्री खरेलले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटको प्रसङ्ग जोड्दै संयोगले त्यो भेटघाट भएको बताए । भेटका क्रममा दुई ऐतिहासिक व्यक्तित्वसँग अन्तरङ्ग कुराकानी भएको उनले उल्लेख गरे ।
भेटका क्रममा पूर्वराष्ट्रपति भण्डारीले ‘जगदीशजी तपाईँहरू पुरुष, हामी महिला । तपाईँहरूले एउटा सिन्को भाच्दा, हामीले तीनवटा भाच्नुपर्छ । हामी त्यति सङ्घर्ष गरेर आएका छौँ, त्यो नेपाली महिलाहरूले आफ्नो करियरका लागि सङ्घर्षको प्रतिक हो’ भनेको प्रसङ्ग मन्त्री खरेलले कार्यक्रममा सुनाए । “आज जो जति महिला पत्रकारहरूले सङ्घर्ष गरेर यहाँसम्म आउनुभएको छ, तपाईँहरूको सङ्घर्ष नेपाली सञ्चारमाध्यमका लागि अनुपम, अद्धितीय र विशेष छ”, उनले भने ।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले सरकारले निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने तथा जेनजी आन्दोलनको भावनाअनुरुप सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न तीव्रताकासाथ काम गरिरहेको उल्लेख गरे । उनले भ्रष्टाचार र अनियमिततासम्बन्धी ठूला प्रकृतिका २५ भन्दा बढी फाइल सरकारले अगाडि बढाइसकेको जानकारी दिए ।
सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले पछिल्लो समय डिजिटल हिंसा बढिरहेको भन्दै यसको न्यूनीकरणका लागि सबै एकजुट भएर लाग्नुपर्ने खाँचो औँल्याए । उनले लैङ्गिक हिंसा मानवअधिकारको बाधक भएको उल्लेख गरे ।
सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थीले डिजिटल हिंसाविरुद्ध सञ्चारमाध्यमको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए । क्रियाशील पत्रकार महिला डब्लुडब्लुजेका अध्यक्ष रामकला खड्का, प्रेस काउन्सिल नेपालका सदस्य निमा काफ्लेलगायत वक्ताले कार्यस्थलको हिंसा कायमै रहेको बताउँदै डिजिटल हिंसा पनि बढिरहेको उल्लेख गरे । यसको न्यूनीकरणका लागि सबै एकजुट हुनुपर्नेमा उनीहरूले जोड दिए ।











