Logo
Logo

विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री


126
Shares

काभ्रेपलाञ्चोक । प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयकी कुलपति सुशीला कार्कीले नेपालका विश्वविद्यालयका कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको बताएकी छन् ।

The current image has no alternative text. The file name is: pm-1.jpg

आज काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय केयूको ३१औँ दीक्षान्त समारोह पहिलो चरणलाई सम्बोधन गर्दै उनले कुलपति बनाउने विषयमा गम्भीर भएकाले विश्वविद्यलायका उपकुलपतिसहित उच्च नेतृत्व तथा अन्य सरोकार भएकासँग परामर्श गरी सरकार गृहकार्यमा जुटेको बताइन् ।

प्रधानमन्त्री कार्कीले पछिल्लो समय प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकताको बोध भएको बताउँदै सोहीअनुसार शिक्षामन्त्री महावीर पुनले सरोकार भएका निकायका प्रतिनिधिसँग आवश्यक छलफल, परामर्श र गृहकार्य गरिरहनुभएको जानकारी दिइन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, “ऐनमा संशोधन गरेर प्राज्ञिक व्यक्ति कुलपति हुने व्यवस्था गर्नेतर्फ हामी लागेका छौँ ।” यस्तो व्यवस्थाबाट नेपालको उच्च शिक्षामा राजनीतिकरणको परम्परालाई अन्त्य गर्ने विश्वास लिइएको उनको भनाइ छ ।

प्रधानमन्त्री कार्कीले युवाहरूको बदलिँदो सोचअनुरूप नयाँ राजनीतिक परिस्थितिमा आफू प्रधानमन्त्री बनेको उल्लेख गर्दै गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकभित्रै सम्बोधन हुनेपर्ने राष्ट्रिय आकाङ्क्षा आमनागरिकको रहेको जेनजी आन्दोलनले प्रष्ट पारेको धारणा राखीन् । “त्यसको जग बसाल्ने अभिभारा निभाउनमा हामी सरकारको तर्फबाट प्रयास गरिरहेका छौँ”, उनले थपिन् ।

नेपालको उच्च शिक्षाका क्षेत्रमा पनि आर्टिफिसियल इन्टेलिजेन्स एआई र भर्चुअल रियालिटी प्रविधिको विकास भएको जनाउँदै प्रधानमन्त्री कार्कीले युवामा परिवर्तनका आकाङ्क्षा देखिनु स्वभाविक भएको बताइन् । उच्च शिक्षामा नेपालको लगानी न्यून रहँदै आएको बताउँदै लगानी नबढाई ती आकाङक्षा पूरा गर्न सम्भव नभएको उनले जनाइन् ।

प्रधानमन्त्री कार्कीले लगानी वृद्धिसँगै उच्च शिक्षाको गैरराजनीतिकरण अहिलेको आवश्यकता हो भन्दै शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षाको क्षेत्रलाई निरन्तर असर पारेकाले सरकारले केही ठोस कदम चालेको बताइन् ।

उनले नेपालको उच्च शिक्षालाई सुधार गर्न केयूले गरेका सकारात्मक पहल र ढाँचालाई अन्य विश्वविद्यालयले समेत अनुशरण गर्नुपर्नेमा जोड दिइन् । “विशेषतः नवप्रवर्तन, प्राज्ञिक दक्षता अभिवृद्धि, नेपालका सन्दर्भमा शिक्षक तथा कर्मचारीलाई तुलनात्मक रूपमा उचित पारिश्रमिकलगायत यस विश्वविद्यालयले अवलम्बन गरेका विषय अरूले सिक्नुपर्छ”, उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले आफ्नै देशमा तुलनात्मक रूपमा सस्तो मूल्यमा गुणस्तरीय शिक्षा अध्ययन गर्ने वातावरण बनाउन र शैक्षिक गुणस्तरमा उत्कृष्टता कायम राख्दै समयानुकूल नयाँनयाँ कार्यक्रम थप गर्ने कार्यमा सघाउन शिक्षामन्त्रीमार्फत सम्बन्धित सबै सरोकार भएका निकायलाई निर्देशन दिइन् ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं केयूका सहकुलपति महावीर पुनको पनि उपस्थिति थियो । समारोहमा विभिन्न विधाका दुई हजार २०९ विद्यार्थी दीक्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्