Logo
Logo

म्यानमारको अनलाइन स्क्यामिङ सेन्टरबाट ४७ नेपाली श्रमिकको उद्धार


0
Shares

काठमाडौं । म्यानमारमा अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्रमा बन्धक बनाई काममा लगाइएका ४७ जना नेपाली श्रमिकको उद्धार भएको छ ।

थाइल्यान्डको बैंककमा रहेको नेपाली दूतावासले थाइल्यान्ड र म्यानमार सरकारसँगको समन्वयमा उनीहरूलाई उद्धार गरी आज नेपाल पठाएको हो ।

थाइल्यान्डमा रहेको नेपाली दूतावासले निकालेको विज्ञप्ति अनुसार उनीहरू म्यानमारको म्यावाडी क्षेत्रमा रहेको श्वे कोक्को र के–के पार्कमा अवैध रूपमा काम गर्न बाध्य भएका थिए ।

उद्धार गरिएका दुई महिलासहित ४७ जना विभिन्न २६ वटा जिल्लाका नागरिक हुन् । १७ देखि ४१ वर्षसम्म उमेर समूहका उनीहरू दुई महिनादेखि १८ महिनासम्म अनलाइन स्क्यामिङ सेन्टरमा आबद्ध भएको देखिएको दूतावासको विज्ञप्तिमा उल्लेख छ ।

म्यानमारको सेनाले छापा मारेर नेपाली श्रमिकहरूलाई उद्धार गरेको हो । नेपालीलाई लिन दूतावासको टोली थाइल्यान्ड–म्यानमार सीमा क्षेत्रमा पुगेको थियो । दूतावासका अनुसार अनलाइन स्क्यामिङ केन्द्रमा अझै कति नेपाली छन् भन्ने यकिन भइसकेको छैन ।

यसअघि गएको कात्तिक १९ गते पनि १४ जना नेपालीलाई म्यानमारबाट बैंकक ल्याइ नेपाल पठाइएको थियो । चालू आर्थिक वर्षमा अहिलेसम्म १ सय ४० जनाको उद्धार भइसकेको छ ।

पीडितहरू विशेषज्ञ, डिजिटल मार्केटिङ वा ग्राहक सेवा प्रतिनिधिका रूपमा देखाइएका रोजगारीमा आवेदन दिइ म्यानमार पुगेका थिए । कानूनी रूपमा प्रवेश गराए पनि कार्यस्थलमा पुगेपछि पासपोर्ट खोसेर बन्धक अवस्थामा काम लगाएको र काम थालेको महिनौंपछि मात्रै अवैध काम भन्ने थाहा पाएको नेपालीहरूले बताएका छन् ।

म्यानमारको सूचना मन्त्रालयका अनुसार टेलिकम ठगी र अनलाइन जुवामा संलग्न समूहहरूले विदेशबाट कामदार लगेर बन्धक बनाइ काममा लगाउने गरेका छन् । म्यानमार सरकारले टेलिकम ठगी र अनलाइन जुवालाई राष्ट्रिय प्राथमिकताका अपराधका रूपमा लिएर नियन्त्रण अभियान तीव्र पारेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्