काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा इलिमिनेटरमा काठमाण्डू गोर्खाजलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा पुगेको छ ।

लुम्बिनी अब फाइनल प्रवेशको लागि विराटनगर किंग्सको सामना गर्नेछ भने काठमाण्डूको यात्रामा भने पूर्णविराम लागेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सम्पन्न खेलमा काठमाण्डूले प्रस्तुत गरेको ११२ रनको लक्ष्य लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीको जितमा ओपनर डी‘एर्सी शर्टे ३४ बलमा दुई छक्कासहित ३३ रन बनाए । सन्दीप जोराले २३ बलमा एक चौका र एक छक्कासहित २३ रन नै थपे । कप्तान रोहितकुमार पौडेलको नाममा १८ रन बनाए । दीनेश अधिकारी चार रनमा पभेलियन फर्किँदा निरोसान डीकवेलाले १४ रन बनाए । दीलिप नाथले सात रन जोडे ।
काठमाण्डूका सन्तोष यादवले दुई विकेट लिए । सन्नी पटेल, साहब आलम, कप्तान करण केसी र राशिद खानले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको काठमाण्डूले १९.१ ओभरमा सबै विकेट गुमाएर १११ रनमात्र बनाउन सक्यो ।
काठमाण्डूका सन्तोष यादवले सर्वाधिक २२ रन बनाए । आदील आलम र जोन सिम्पसनले समान १८ रन बनाए । भीम सार्कीले १४ रन थपे । कप्तान करण केसीले १४ बलमा नौ रन जोडे ।
काठमाण्डूबाट शीर्षक्रममा क्रमशः ओपनिङ, तेस्रो र चौथो नम्बरमा आएका बेन चाल्र्सवर्थले चार, आकाश त्रिपाठीले एक, सन्नी पटेलले सात र मिलिन्द कुमारले दुई रनमात्र बनाउन सके । राशिद खानले दुई रन जोडे ।
काठमाण्डूलाई सस्तैमा समेट्न लुम्बिनीका स्पिन शेर मल्लले तीन विकेट लिए । चार ओभरमा शेरले २२ रनमात्र खर्चिए । कप्तान रोहितकुमार पौडेलले पनि चार ओभरको स्पेलमा २५ रन खर्चिएर तीन विकेट नै हात पारे । रुबेन ट्रम्पेलमनले दुई विकेट लिए । ३।१ ओभरमा उनले एक मेडनसहित सात रनमात्र खर्चिए । अभिशेष गौतमको नाममा एक विकेट लिए ।
एनपीएलको इतिहासमा यी दुवै टिमले पहिलोपटक प्लेअफमा प्रतिस्पर्धा गरेका हुन् । यसअघि पहिलो संस्करणमा काठमाण्डूले पाँचौँ र लुम्बिनीले पुछारमा रहँदै प्रतियोगिता टुंग्याएका थिए ।
प्रतियोगितामा काठमाण्डू तेस्रो र लुम्बिनी चौथो स्थानमा रहँदै प्लेअफमा आएका हुन् । सात खेलबाट १० अंकसहित लिग चरणमा काठमाण्डूले तेस्रो स्थान सुनिश्चित गरेको थियो । यता, समान खेल खेलेको लुम्बिनीले भने आठ अंक जोडेको थियो ।
प्रतियोगिताको दोस्रो क्वालिफायर बिहीबार हुने तालिका छ । यो खेलमा जित निकाल्ने टिमले उपाधि निम्ति शनिबार सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।











