Logo
Logo

बर्दिया घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु


0
Shares

काठमाडौँ । नागरिकताबाट वञ्चित भएपछि बर्दियामा बाबु–छोरीले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न गठित समितिले स्थलगत रुपमै अध्ययन सुरु गरेको छ ।

The current image has no alternative text. The file name is: bardiya.jpg

समितिका संयोजक सुरेश पन्थीको नेतृत्वमा सदस्यहरुसहितको टोली आज बढैयाताल गाउँपालिका–४ स्थित घटनास्थल पुगेर समग्र वस्तुस्थिति बुझेर सर्वपक्षीय छलफल गरेको हो ।

छानबिन समितिको सहयोगमा आज मृतक अञ्जु थारुकी सात वर्षीया छोरी अनिताको जन्म दर्ता र आमा अञ्जुको मृत्यु दर्ता सम्पन्न भएको छ । समिति सदस्य कुलशेखर अर्यालका अनुसार टोलीले घटनास्थलमा आएर पीडित परिवारलाई सहजीकरण र घटनाका बारेमा छानबिन थालेको छ । “बाँकी समस्या बुझेर प्रतिवेदनमा उल्लेख गर्नेछौँ”, उनले भने ।

घटनापछि अञ्जुका श्रीमान् अनिलविरुद्ध आत्महत्या दुरुत्साहन मुद्धा दर्ता भएको छ । उनलाई पक्राउ गर्न अदालतबाट अनुमति प्राप्त भइसकेको छ । सो घटनाका बारेमा राष्ट्रिय मानवअधिकार आयोगले पनि छानबिन गरिरहेको छ ।

सो घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले यही मङ्सिर २१ गते सहसचिव पन्थीको संयोजकत्वमा, उपसचिव अर्याल र बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारी सदस्य रहेको समिति गठन गरेको थियो । समितिलाई पाँच दिनभित्र अध्ययन प्रतिवेदन बुझाउन भनिएको छ ।

बर्दियाको बढैयाताल–४ की २२ बर्सिया अन्जु थारुले गाउँकै अनिल थारुसँग बिहे गरेकी थिइन् । अञ्जुले श्रीमान विरुद्ध अंश मुद्दा दर्ता गरेकामा अदालतले अंश दिने फैसला गरे पनि नागरिकता नभएका कारण अंश पाउन सकिनन् । नागरिकता नहुँदा उहाँकी छोरीको जन्मदर्ता हुन सकेन । अंश दिने न्यायिक प्रक्रिया समेत अवरुद्ध भयो ।

अदालतले अंश दिन आदेश गरे पनि वडा कार्यालयले नागरिकताको सिफारिस गरेन । आमाको नामबाट सन्तानको जन्मदर्ता हुनसक्ने कानुनी व्यवस्था भए पनि अञ्जुले सात वर्षकी छोरीको जन्म दर्ता गर्न सकिनन्। वडाले ‘बुबाको नागरिकता चाहिन्छ’ भन्दै जन्मदर्ता बनाइदिएन ।

माइतीबाट नागरिकता बनाउन खोज्दा जिल्ला प्रशासनले रोक्यो । स्थानीय तह र प्रशासनबाट निरन्तर असहयोग भएपछि अञ्जुले माइतीमै गत कात्तिक २२ आत्महत्या गरेकी थिइन्। अञ्जुले आत्महत्या गरेको चार दिनमै छोरीको मृत्युको शोकमा रहनुभएका ६१ वर्षीय बाबु कान्छा थारुले पनि आत्महत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्