Logo
Logo

उच्चपदस्थ १० जनालाई मार्ने धम्की दिएका पाठकविरुद्ध डिफ्युजन नोटिस जारी


1.1k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईसहित १० जना हाइप्रोफाईललाई धम्की दिने युवक प्रकाश पाठकविरुद्ध डिफ्युजन नोटिस जारी गरिएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा भिडियो र अडियो सन्देश पोस्ट गरेर धम्क्याउँदै आएका काभ्रे घर भएका पाठक विरुद्ध प्रहरी प्रधान कार्यालयको अनुरोधमा इन्टरपोल महासचिवालयबाट डिफ्युजन जारी गरिएको हो । स्रोतका अनुसार भारत हुँदै इन्डोनेसिया पुगेका पाठक अहिले फिलिपिन्समा लुकेर बसेको आशङ्का गरिएको छ ।

आफूलाई उग्रबादी संगठनको अध्यक्ष बताउने पाठकले भिडियो पोस्ट गरेर १० जना हाइप्रोफाइललाई ‘सफाया’ गर्ने धम्की दिएका थिए । उनले राईसहित लोकमान सिंह कार्की, गोपाल बहादुर खड्का, रमेश लेखक, बालकृष्ण खाण, आरजु राणा, ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी र दुर्गा प्रसाईँलाई ज्यान मार्ने धम्की दिएका थिए ।

विचाराधीन मुद्दामा आरोपीलाई पक्राउ गर्न इन्टरपोल मार्फत डिफ्युजन नोटिस जारी गरिन्छ । डिफ्युजन नोटिस जारी गरेपछि आरोपीको लोकेसन पत्ता लगाउन इन्टरपोलमा आबद्ध प्रहरी सङ्गठनले सहकार्य गर्छन् ।

मङ्सिर १७ मा उपत्यका प्रहरी कार्यालयले धम्की दिइएका व्यक्तिहरूको निवास वरपर सुरक्षा निगरानी गर्न सर्कुलर गरेको थियो । घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।

प्रकाश पाठकसँग ‘कनेक्सन’मा देखिएका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भएका शरणजंग शाही, सर्लाही घर भएका तोरण थापा मगर र बर्दिया घर भएका धिरेन्द्र सुनार छन् । उनीहरुलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्