Logo
Logo

जाँचबुझ आयोगमा आज खापुङ र दुवाडीको बयान हुँदै


819
Shares

काठमाडौं । जेनजी आन्दोलनको घटना सम्बन्धी जाँचबुझ आयोगले पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ र पूर्वगृहसचिव गोकर्णमणी दुवाडीलाई बयानका लागि बोलाएको छ ।

हाल अवकाश प्राप्त खापुङ जेनजी आन्दोलनका क्रममा प्रहरी महानिरीक्षक थिए । आन्दोलनमा २३ गते प्रहरीले अत्याधिक बल प्रयोग गरेको भन्दै आलोचना भइरहेको छ । आयोगले उनलाई यसअघि २४ घण्टे स्पष्टीकरण सोधेको थियो भने अवकाश लगत्तै विदेश जान प्रतिबन्ध लगाएको थियो ।

यस्तै, जेनजी आन्दोलनको समयमा गृहसचिव रहेका दुवाडीलाई अन्तरिम सरकारले असोज ७ गते सरुवा गरेको थियो । उनलाई गृहसचिवबाट हटाएर राष्ट्रिय योजना आयोगमा सरुवा गरिएको छ ।

दुवाडीलाई पनि जाँचबुझ आयोगले विदेश जान प्रतिबन्ध लगाएको छ। काठमाडौँबाहिर जान पनि प्रतिबन्ध लगाएको थियो । तर यसबिचमा उनी आयोगसँग अनुमति लिएर उपत्यकाबाहिर गएका छन्। जेनजी आन्दोलनमा दमन गर्न दुवाडीको पनि भूमिका रहेको भन्दै उनलाई पनि आयोगले सुरुमै कडाइ गरेको हो ।

आयोगका प्रवक्ता विज्ञानराज शर्माले उनीहरूलाई आज आयोगमा बयानका लागि बोलाइएको जानकारी दिए । आज दुवाडी र खापुङसँग बयान लिएपछि आयोगले वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बोलाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्