Logo
Logo

मोहना नदी-दैजी सडक निर्माणको ठेक्का तोडियो


315
Shares

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी–डोकेबजार–बेलौरी–बेलडाँगी–दैजी सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ ।

सडक विभाग अन्तर्गतको हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालय धनगढीले सार्वजनिक सूचना जारी गर्दै बाबा हन्स–सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौँसँग भएको ठेक्का सम्झौता अन्त्य गरेको जानकारी दिएको हो ।

आर्थिक वर्ष २०७३÷७४ मा सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता भएको करिब २० किलोमिटर लामो यो सडकमध्ये ५ किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी थियो । यसको निर्माण प्रगति लगभग ८२ प्रतिशत पुगेको थियो ।

योजना कार्यालय धनगढीका अनुसार पटकपटक ताकेता गर्दा पनि काम नगरेको, प्रतिबद्धता अनुसार काम अगाडि नबढाएको र साइट ठप्प बनाएका कारण ठेक्का तोडिएको हो । ठेक्का सम्झौता रद्द गरिएपछि निर्माण व्यवसायीको कार्य सम्पादन जमानत जफत गरिनेछ ।

यसअघि, गत कार्तिक १४ गते योजना कार्यालय धनगढीले ठेक्का किन नतोड्ने भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधेको थियो । निर्माण व्यवसायीले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सार्वजनिक खरिद कानुनको व्यवस्था अनुसार ठेक्का रद्द गरिएको कार्यालयले जनाएको छ ।

ऐनको प्रावधान अनुसार कार्य सम्पादन जमानत वापतको रकम जफत हुनेछ । बाँकी काम पूरा गर्न लाग्ने रकम सरकारी बाँकी सरह असुल उपर गरिनेछ र निर्माण व्यवसायीलाई कालोसूचीमा राख्न सिफारिस गरिएको छ।

कार्यालयले हालसम्म अद्यावधिक भएको र बाँकी कामको नापजाँच मूल्याङ्कन गरी वित्तीय फरफारक गर्न १५ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्माण व्यवसायीलाई अनुरोध गरेको छ। निर्माण व्यवसायी उपस्थित नभएमा कार्यालय आफैँले नापजाँच गर्नेछ।

प्रतिक्रिया दिनुहोस्