Logo
Logo

रवि र छविको मुद्दा आज पनि हेर्न नमिल्नेमा


693
Shares

काठमडौं । रास्वपा सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको सहकारी ठगी सम्बन्धी मुद्दा आज पनि स्थगित गरिएको छ । कार्तिक १३ गतेबाट लगातार पेसी चढेको उक्त मुद्दा सुनुवाइका लागि आज उच्च अदालत बुटवलका न्यायाधीशद्वय तेजनारायण पौडेल र सागर विष्टको इजलासमा परेको थियो ।

तर, न्यायाधीश सागर विष्टको आफन्त जाहेरवाला कानुन व्यवसायी परेका कारण मुद्दा हेर्न नमिल्नेमा राखिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको पेसी कात्तिक १३ गते पछि निरन्तर सरिरहेको छ ।

यसअघि दुई पटक रविका कानुनी व्यवसायीले निवेदन दिएर सो मुद्दा सारेका थिए भने गत बिहीबार सार्वजनिक बिदाका कारण रोकिएको थियो । यसअघि कात्तिक १३ गते तोकिएको पेसी छविलाल जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो ।

लामिछानेको मुद्दामा न्यायाधीश द्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले छवि समेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो । लामिछानेले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते रिहा गर्न अस्वीकार गरेपछि उनी पुर्पक्षका लागि थुनामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्