
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले प्रणाली र व्यवस्थाबारे कुनैपनि प्रकारको सम्झौता गर्न नमिल्ने बताएका छन् । बिहीबार काठमाडौंमा सम्पादकहरुसँग छलफल गर्दै उनले कुनैपनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट यो सरकारले नपाएको बताएका हुन् ।
कुनैपनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट यो सरकारले कहाँबाट पायो ? भन्दै प्रश्न गरेरका उनले जेनजी र सरकारबीच भएको सम्झौता कलाबिहीन भद्दा नाटक भएको टिप्पणी गरे । सरकार र जेनजीबीच भएको सम्झौता सोही ठाउँमा च्यातेर अस्वीकार भएको भन्दै धेरै टिप्पणी गर्न आवश्यक नहुने उनले तर्क गरे ।
‘हिजो एउटा कलाविहीन नाटक भयो । त्यसमा धेरै भन्नुपर्छ र ? यो सरकारले कुनैपनि प्रणाली र व्यवस्थाका बारेमा सम्झौता गर्ने म्याण्डेट कहाँबाट पायो ?,’ उनले प्रश्न गर्दै भने, ‘गोबर टाँसेको सरकारले कलाबिहीन नाटक गर्यो नि । त्यहीँ अस्वीकार भयो नि । त्यहीँ च्यातिदियो नि । त्यसकारण त्यो कलाबिहीन भद्दा नाटक हो ।’











