काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् बुधवार सामान्य अङ्क घटेर बन्द भएको नेप्सेले पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

बिहीबार नेप्से परिसूचक १.६६ अङ्क घटेर २६०७.३७ विन्दुमा झरेको छ । आज सेन्सेटिभ इण्डेक्स ०.११ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ०.१० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०७ अङ्क घटेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधवार ३ अर्ब ७३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा ३२६ स्टकको ६९ हजार ७२९ पटकको कारोबारमा ३ अर्ब ४९ करोड ७९ लाख ७९ हजार रुपैयाँबराबरको ७७ लाख ६८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानल नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, ७.२५ प्रतिशत एसबिएल डिबेञ्चर २०९१ को मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ भने श्रीनगर एग्रीटेकको सेयरमूल्य करिब ६ प्रतिशत बढेको छ । कारोबारमा आएको मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्य सर्वाधिक ८.४२ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १८ करोड ९७ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ । त्यस्तै, श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको करिब साढे १२ करोड रुपैयाँको सेयर किनबेच भएको छ भने सागर डिष्टिलरीको कारोबार रकम साढे ९ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । आज बैंकिङ्ग, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो ।











