काठमाण्डौ । काठमाण्डौको नयाँ बसपार्क क्षेत्रमा यात्रुलाई झोला तानेर दुःख-हैरानी दिने ४६ जना व्यक्तिलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा प्रहरी प्रभाग नयाँ बसपार्कको संयुक्त टोलीले गोङ्गबु क्षेत्रलाई लक्षित गरी शङ्कास्पद गतिविधि गर्ने, जबरजस्ती यात्रुको झोला तान्ने ट्याक्सी चालक, होटल सञ्चालक तथा होटलका कर्मचारीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता तथा प्रहरी उपरीक्षक एसपी पवनकुमार भट्टराईका अनुसार, देशका विभिन्न स्थानबाट राजधानी प्रवेश गर्ने यात्रुलाई सताउने घटना दोहोरिँदै आएसँगै प्रहरी सक्रिय बनेको हो । सुरूमा सम्झाइबुझाइ गरेर छाडिएको भए पनि दोहोरिएमा कडा कारबाही गरिने एसपी भट्टराईले चेतावनी दिएका छन् ।
उनका अनुसार, यस प्रकारका गतिविधि रोक्न प्रहरीले अभियानलाई निरन्तर रूपमा अघि बढाउनेछ ।











