काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशन आजदेखि सुरू हुँदैछ । भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा उद्घाटन समारोह हुँदैछ ।
उद्घाटन समारोहमा प्रतिनिधि, कार्यकर्तासहित २ लाख मानिस सहभागी हुने एमालेले दाबी गरेको छ । उद्घाटन समारोहका लागि अन्य दलका नेताहरूलाई पनि बोलाइएको छ ।
एमाले ललितपुरका अध्यक्ष पुरूषोत्तम आचार्यले पाँच लाख जनसमुदाय उतार्ने तयारी गरेको बताउँदै भने, ‘अहिलेसम्मको आकडाअनुसार न्यूनतम दुई लाख नागरिकको सहभागिता रहने पक्कापक्की भएको छ ।’
महाधिवेशनमा डेढ सय झाँकी प्रस्तुत हुनेछन् । आचार्यका अनुसार भक्तपुरले विभिन्न जाति, समुदायको कला, सामाजिक–सांस्कृतिक परम्परा झल्कने ५० बढी झाँकी प्रस्तुत गर्नेछ भने एमाले काठमाडौंले ५० र ललितपुरले पनि त्यति नै संख्यामा झाँकी प्रस्तुत गर्नेछ । उनले भक्तपुरमा पहिलो पटक हुन लागेका महाधिवेशनलाई जनसमुदायको उपस्थितिका हिसाबले ऐतिहासिक हुने बताए ।
एमालेले काठमाडौंतर्फबाट आउने सहभागी सहितको गाडीलाई गट्ठाघरमै रोक्नेछ । त्यहाँबाट महाधिवेशन स्थलसम्म ३.१ किलोमिटर दूरी रहेको छ । उक्त दूरी जुलुससहित पुग्ने गरी व्यवस्थाबपन मिलाइएको छ ।
यस्तै, पूर्वी नाका हुँदै आएका गाडीहरू जगातीमै रोकिनेछन् भने त्यहाँका इँटा भट्टा, प्लटिङ आदि स्थलमा पार्किङ व्यवस्थापन गरिएको उनले बताए ।
यस्तै, ललितपुरबाट आएको गाडी र सहभागीहरू शंखघर चोकमा जम्मा हुने र त्यहाँबाट जुलुससहित सभा स्थल जाने तय गरिएको छ उनले बताए । उनका अनुसार सहभागीहरू कार्यक्रमको अन्तिमसम्म सल्लाघारीको चौरमै उपस्थित रहन निर्देशित गरिएको छ ।











