काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भदौ २३ र २४ गतेका घटनाहरूको सत्यतथ्य छानबिन गरी दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन गठित उच्चस्तरीय न्यायिक छानबिन आयोगले आग्रह, पूर्वाग्रह, दबाब र प्रभावबाट मुक्त भएर निष्पक्ष प्रतिवेदन तयार गर्नुपर्ने बताएका छन् ।

भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा आयोजित नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै कार्यवाहक सभापति खड्काले अन्तरिम सरकारले गठन गरेको आयोगलाई सचेत गराउँदै यस्तो धारणा राखेका हुन् ।
‘यी दुवै घटनाहरूको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन गठित उच्चस्तरीय न्यायिक छानबिन आयोगले आग्रह–पूर्वाग्रह, दबाब र प्रभावबाट मुक्त भई निष्पक्ष प्रतिवेदन तयार गर्नुपर्छ,’ खड्काले भने ।
उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाइएको काठमाडौं उपत्यका छाड्न नपाउने निर्णयलगायतका कार्यहरूले धेरै प्रश्नहरू उठाएको उल्लेख गर्दै आयोगलाई यसतर्फ सतर्क रहन आग्रह गरे । ‘यही क्रममा नेताहरूमाथि लगाइएका यात्रा प्रतिबन्धका निर्णयलगायतका कार्यहरूले धेरै प्रश्नहरू उठाएका छन्,’ खड्काले भने, ‘त्यसैले यसतर्फ आयोग सतर्क हुन आवश्यक छ । सचेततापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न जरुरी छ ।’
कार्यवाहक सभापति खड्काले नागरिकको जीउधनको सुरक्षा जिम्मेवारी लिएका सुरक्षाकर्मीमाथि हुर्मत लिने, हातहतियार लुट्ने जस्ता कार्य भएको तथा नागरिकका निजी सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी गरी सर्वस्व नष्ट पारिएको घटनाहरूतर्फ इङ्गित गर्दै पीडितहरूले न्याय पाउनु कानुनी राज्यको प्रमुख दायित्व भएको बताए ।
‘पीडितहरूले न्याय पाउने विषय कानुनी राज्यको प्रमुख दायित्वभित्र पर्छ । यो सरकारको कर्तव्य हो र गठित आयोगहरूको पनि परम कर्तव्य हो,’ उनले भने ।अन्तमा, कार्यवाहक सभापति खड्काले लोकतन्त्रमा निरङ्कुशता वा अस्थिरताको कालो बादल मडारिँदा नेपाली कांग्रेस, एमालेलगायत लोकतान्त्रिक दलहरू एकठाउँमा उभिएर डटेर प्रतिवाद गर्ने इतिहासको स्मरण गर्दै राष्ट्रिय एकता र लोकतन्त्रको रक्षाका लागि सबै दलहरू सङ्कल्पबद्ध हुनुपर्नेमा जोड दिए ।











