Logo
Logo

लगातार दुई सिजन ट्रफी जित्ने पहिलो खेलाडी बने शेर मल्ल


630
Shares

काठमाडौं । लुम्बिनी लायन्सका बलर शेर मल्ल नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी लगातार दुई पटक जित्ने पहिलो खेलाडी बनेका छन् ।

शनिवार लुम्बिनीले दोस्रो संस्करणको उपाधि जितेसँगै मल्लले यो कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् ।

पहिलो संस्करणमा जनकपुर बोल्ट्सबाट खेल्दै उपाधि जितेका मल्लले यसपटक लुम्बिनी लायन्सबाट च्याम्पियन बन्ने अवसर पाए । दोस्रो सिजनका लागि जनकपुरले रिलिज गरेपछि उनी लुम्बिनीमा आबद्ध भएका थिए ।

संयोगको कुरा, मल्लले जुन टिमबाट खेले पनि फाइनलमा पराजित हुने टोली भने सुदूरपश्चिम रोयल्स नै बनेको छ ।

पहिलो सिजनमा जनकपुरले सुदूरपश्चिमलाई हराउँदा मल्ल विजेता टोलीमा थिए भने यसपटक लुम्बिनीले सुदूरपश्चिमलाई नै हराउँदा पनि उनी च्याम्पियन टोलीको महत्त्वपूर्ण सदस्य रहे ।

उपाधि यात्रामा मल्लको प्रदर्शन लोभलाग्दो रह्यो । शनिवार भएको फाइनल खेलमा उनले सुदूरपश्चिमविरुद्ध ४ ओभरमा १८ रन खर्चेर ३ महत्त्वपूर्ण विकेट लिए। योसँगै दोस्रो सिजनमा उनको कुल विकेट सङ्ख्या १७ पुगेको छ ।

यसअघि पहिलो सिजनमा जनकपुरबाट खेल्दा उनले ७ खेलमा ७ विकेट लिएका थिए । लगातार दुई सिजन दुई फरक टोलीबाट च्याम्पियन बनेर मल्लले एनपिएल इतिहासमा आफूलाई सफल खेलाडीका रूपमा स्थापित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्