
चेस खेलाडी पुनम प्रसाईँ २०२६ मा हुने ओलम्पिक गेममा सहभागी हुने तयारीमा छन् । त्यसका लागि उनी अहिलेदेखि नै तयारीमा जुटेकी छन् । ओलम्पिकमा पदक जित्नु उनको उद्देश्य हो । विद्यालय स्तरदेखि नै चेस खेल्दै आएकी पुनम भन्छिन्, ‘चेस खेलको विकाशमा सक्दो योगदान दिन तत्पर छु । र, चेसबाटै नेपाललाई चिनाउन चाहन्छु ।’ हालसम्म दजनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेलिसकेकी पुनम नेपालमा चेस खेलप्रति आकर्षण बढ्दै गएको बताउँछिन् । साइकोलोजी एण्ड सोसलवर्कमा स्नातक अध्ययनरत उनले पढाईसँगै चेस खेललाई पनि एकसाथ अँगोकी सछन् । चेस खेलाडी २२ बर्षीया पुनम प्रसार्इँसँग रेजिना पाण्डेको जम्काभेट :
तपाईँको खेल यात्रा कसरी सुरु भयो ?
म विद्यालय स्तरदेखि नै खेल्दै आएकी हुँ । ११ वर्षको उमेरदेखि मैले चेस खेल्न सुरु गरेकी हुँ । त्यही बेलादेखि मलाई चेसप्रति मोह बढ्यो । विस्तारै खेल्दै गएँ । सुरुमा विद्यालय, जिल्लास्तर हुँदै राष्ट्रिय प्रतियोगिता खेल्न थालेकी हुँ । अब ओलम्पिक खेल्दैछु । त्यसका लागि छनोट भइसकेकी छु ।
हिजोआज चाहिँ केमा व्यस्त हुनुहुन्छ ?
हाल म नेपाल पुलिस क्लवबाट नेशनल गेम खेलिरहेको छु । यही गेम अहिले मेरो करिअरका रुपमा अगाडि बढिरहेको छ । यो गेमको गुरू मेरो दाजु सुवास प्रसाईँ हुनुहुन्छ । जसले मलाई चेस खेल्न सिकाउनुभयो । अबचाहिँ ओलम्पिकको तयारी जुट्दै छु ।
आजसम्म कति गेम खेल्नु भयो ?
पाँच दर्जनभन्दा बढी गेम खेलिसकेँ । धैरै ठाउँमा सहभागी हुने मौका पाए भने भारत, चीन र बंगलादेशमा पनि सहभागी भएँ । धेरै ठाउँबाट मेडल लिएर आएकी छु । कति ठाउँमा सहभागी हुँदा नगद पुरस्कार पनि पाएको छु । यसमा मलाई गर्व पनि लाग्छ ।
ओलम्पिकमा सहभागी हुन पाउँदा कस्तो लागिरहेको छ ?
निकै खुशी र रमाइलो लागिरहेको छ । म २०२६ को ओलम्पिकमा मात्र नभएर २०२४ मा पनि छनोट भएकी थिएँ । तर, कारण बस २०२४ मा स्थगित भयो । त्यो बेला ओलम्पिकमा कुनै पनि नेपाली खेलाडी जान पाएनन् ।
त्यो बेला किन स्थगित भयो ?
खेलाडीभन्दा पनि पदाधिकारीहरू बढी भयो भन्ने कारण देखाइएको थियो । हुन पनि हाम्रो नेपालमा गेममा सहभागी हुन खेलाडीभन्दा बढी अरू व्यक्ति जान्छन् । यो सत्य पनि हो ।
चेस खेल्दा तपाईँ के सोच्नुहुन्छ ?
सबभन्दा पहिला आफनो प्रतिस्पर्धी कस्तो छ, कतिको चलाख छ भन्ने बुझ्छु । र, म केका लागि खेल्दैछु, किन खेल्दैछु भन्ने सोच्ने गर्छु ।
चेस कस्तो खेल हो ? यसको फाइदा–बेफाइदा के छ ?
चेस एक बौद्धिक खेल हो । यसमा दिमागको निकै प्रयोग गर्नुपर्छ । जति दिमाग लगाइन्छ, त्यति फाइदा हुन्छ । दिमागको खेल भएकोले क्यालकुलेशन गर्ने क्षमताको बृद्धि गर्दछ । बेफाइदा भने केही छैन । दिमागको सदुपयोग गर्न सक्यो भने यो गेममा राम्रो खेलाडी हुन सकिन्छ ।
नेपालमा चेस खेलको अवस्था कस्तो छ ?
नेपालमा अहिले चेसप्रति आकर्षण बढ्दै गएको छ । तर, राज्यले पनि आफनो साइडबाट खेलाडीहरूलाई सुविधा, भत्ता र टे«निङजस्ता काम गरिदिए झनै राम्रो हुने थियो । कति खेलाडीहरू आफूसँग प्रतिभा भएर पनि आर्थिक अभावका कारण बिदेशिएका छन् । उनीहरू ओझेलमा परेका छन् । आर्थिक अभावकै कारण धेरै खेलाडीहरू पलायन भएका छन् । त्यसैले राम्रो खेलाडीहरूलाई खोजी गरेर राज्यले काम दिनसके देशका लागि राम्रो हुनेथियो ।
चेस खेलमा उमेरहद छ कि छैन ?
खेलमा नियम र प्रावधान त भइहाल्छ नि । तर, उमेरले चाहिँ चेस खेल्न छेक्दैन । यो खेल बुद्धिचाल भएकोले पनि दिमाग लगाएर खेल्नुपर्छ । त्यसैले दिमाग खेलाउन सक्ने जो कोहीले खेल्न सक्छ ।
चेस खेलाडी भएर के पाउनुभयो ?
नाम, मानसम्मान र दाम सबै कमाइरहेको छु । देश बिदेशमा गएर आफनो प्रतिभा देखाउने अवसर पाइरहेको छु । गेमको सिलसिलामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानीत हुने मौका पाएँ । त्यो दिन मेरो लागि सुनौलो दिन थियो । जसले अझ राम्रो खेल्ने प्रेरणा र हौसला मिल्यो ।
अहिलेसम्म खेलेको कुन गेम सम्झिन लायक थियो र किन ?
जुनै गेम जोसँग खेल्दा पनि अविस्मरण र सम्झना लायक नै हुन्छ । यस्ता धेरै गेमहरू छन् । केही महिनाअघि राष्ट्रिय स्तरको खेल गोरखामा भएको थियो । जुन गेम कृपा अधिकारीसँग खेलेको थिएँ । त्यो मेरो लागि सम्झना योग्य बनेको थियो ।
तपाईँलाई मन पर्ने चेस खेलाडी को हो ?
इन्दिरा जोशी र आशिष फुँयाल ।
खेलबाहेक केमा रुचि छ ?
मलाई घुम्न मनपर्छ ।
अबको योजना के छ ?
अहिलेको समयमा त ओलम्पिक गेमको लागि तयारी गरिरहेकी छु । भविष्यमा यहि गेमसँग आवद्ध भएर काम गर्ने सोच छ ।











