काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आइतबार नेप्से घटेसँगै २६०० विन्दुभन्दा तल झरेको छ । नेप्से परिसूचक १४ कारोबार दिनपछि २६०० विन्दुभन्दा तल झरेको हो । यस अघि गत मङ्सिर ४ गते नेप्से २६०० विन्दुमुनि बन्द भएको थियो ।
आइतबार नेप्से परिसूचक १२.५० अङ्क घटेर २५९४.८७ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.७९ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.७७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अङ्क घटेको छ ।
नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ३ अर्ब ४९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३३० स्टकको ६० हजार ६९९ पटकको करोबारमा ४ अर्ब ७४ लाख ५५ हजार रुपैयाँबराबरको १ करोड १२ लाख ७२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानलको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको सिटि होटलको सेयरमूल्य यस दिन सर्वाधिक ६.२६ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा कुमारी बैङ्कको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ। सो बैङ्कको २६ करोड १८ लाख रुपैयाँबराबरको संस्थापक सेयर किनबेच भएको हो । त्यस्तै, ङादी ग्रुप पावरको करिब १९ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ भने शिवम सिमेन्ट्सको करिब ८ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ ।
१३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अङ्क बढेको हो । कारोबारमा आएको जलविद्युत, होटल तथा पर्यटन र जीवन बीमा उपसमूहको परिसूचक यस दिन करिब १ प्रतिशत घटेको छ ।











