काठमाडौं । विभिन्न माग राखेर अर्थमन्त्री रामेश्वर खनाललाई भेट्न सिंहदरबार जाँदा प्रवेश पास नपाएपछि जेनजी घाइतेहरू सिंहदरबार अगाडि धर्नामा बसेका छन् ।

रिलायन्स स्पीनिङ मिल्सको वैदेशिक रोजगारमा रहेकाहरूलाई निष्काशित प्रारम्भिक सार्वजनिक निष्कासन बाँडफाँड रोक्काका साथै नेपाल धितोपत्र बोर्डमा व्याप्त भ्रष्टाचारलाई छानबिन गर्न माग गर्दै उनीहरूले अर्थमन्त्री खनाललाई भेट्न सिंहदरबार पुगेका थिए । तर अर्थमन्त्रीलाई भेट्न नपाएपछि उनीहरूले सिंहदरबारको पश्चिम गेटमा धर्नामा बसेका हुन् ।
रिलायन्स स्पीनिङ मिल्सको वैदेशिक रोजगारमा गएका नेपालीहरूको लागि निष्काशित आईपीओ बाँडफाँड प्रक्रियालाई तत्काल रोक्नुपर्ने, निष्पक्ष छानबिन आयोग गठनमा गरी तत्काल धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई निलम्बन गर्नुपर्ने उनीहरूको माग छ ।
त्यस्तै बोर्ड अध्यक्ष दोषी ठहरिए तत्काल बर्खास्त गर्नुपर्ने र भ्रष्टाचारमा संलग्न दोषीहरूलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।











