काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको जारी ११औँ महाधिवेशनको बन्दसत्रमा पार्टी एकताको महाधिवेशन हुनुपर्ने बताएका छन् ।

उनले पाँचौँ महाधिवेशनको स्मरण गर्दै जनताको बहुदलीय जनवाद (जबज) प्रस्ताव र फरक मतको संरक्षणको ऐतिहासिक महत्त्व उल्लेख गरे । पोखरेलले पार्टी सञ्चालन शैलीमा पुनर्विचार आवश्यक रहेको बताए ।
उनले बाह्य षड्यन्त्रलाई मात्र जिम्मेवार ठानेर आन्तरिक कमजोरीबाट पन्छिन नहुने बताए । पाँचौँ महाधिवेशनपछि पार्टी फुटको कारण छलफल नभएको, २०७१ मा केपी शर्मा ओलीको नेतृत्व चयनको सन्दर्भ, नेकपा एकताको असफलता र जेनजी आन्दोलनबाट उठेका प्रश्नको समीक्षा हुनुपर्ने उनको जोड थियो ।
उनले गत भदौमा पारित विधान संशोधन र नेतृत्वमाथि उठेका प्रश्नको निराकरण गर्नुपर्ने बताए । राज्य संयन्त्र हुँदाहुँदै असफलताको कारण आन्तरिक कमजोरी प्रमुख रहेको स्वीकार गर्दै नीति-व्यवहारबीचको अन्तर सुधार्नुपर्ने उनले औँल्याए ।
पोखरेलले आफ्नो अवधारणापत्र प्रतिनिधिहरूले प्राप्त गर्ने जानकारी दिँदै पार्टीले नीति र विधानअनुसार हिँड्नुपर्नेमा जोड दिए ।











