काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अभिभावक भएर बस्न सुझाव दिएका छन् ।

११औँ महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै पोखरेलले ओली ११ वर्ष पार्टी अध्यक्ष र ६ वर्ष प्रधानमन्त्री भइसकेकाले अब गर्नुपर्ने नयाँ काम बाँकी नरहेको बताए।
उनले भने, ‘११ वर्ष पार्टी अध्यक्ष हुनुभयो । ६ वर्ष प्रधानमन्त्री हुनुभयो । अब उहाँले गर्नु पर्ने नयाँ काम केही बाँकी छ जस्तो लाग्दैन।’
पोखरेलले अगाडि भने, ‘अब कमरेड ओलीले यो पार्टीको अभिभावक हुनुपर्छ भन्ने ठान्छु। आम रूपमा त्यही परिस्थिति छ।’
उनले नेतृत्वको जिम्मा नयाँ पुस्तालाई दिन आग्रह गरे । पोखरेलले भने, ‘अब नेतृत्वको जिम्मा हामीलाई दिनुस् भन्न चाहन्छु। मेरो अवधारणा पढ्नुस् । साथ र समर्थनको अपेक्षा छ।’
महाधिवेशनलाई एकताको सन्देश दिने महाधिवेशन बनाउनुपर्नेमा उनले जोड दिए । उनले ५औँ महाधिवेशनको स्मरण गर्दै फरक मतको संरक्षण गर्ने कुराको ग्यारेन्टी गरेको बताए । फरक मतलाई स्वीकार्ने कुरा आज पनि उत्तिकै महत्त्वपूर्ण रहेको पोखरेलको भनाइ छ ।











