काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले नेपालको अर्थतन्त्रको विकासमा हस्तकला क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाल हस्तकला महासङ्घको ५३औँ स्थापना दिवस तथा १४औँ हस्तकला दिवसका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री सिन्हाले हस्तकला क्षेत्र मुलुकको कला, संस्कृति र पहिचानसँग जोडिएको क्षेत्र भएकाले यसको विकासमा सरकारको निरन्तर सहयोग रहने स्पष्ट पारे।
“नेपालको कला र संस्कृतिको प्रतीकका रूपमा रहेको हस्तकला क्षेत्रको आफ्नै विशिष्ट पहिचान छ,” मन्त्री सिन्हाले भने, “यस क्षेत्रको प्रवर्द्धन र विस्तारमा सरकारले आवश्यक सहयोग गर्न कुनै कसर बाँकी राख्दैन ।”
मन्त्री सिन्हाले हस्तकला क्षेत्रसँग सम्बन्धित नीतिगत तथा प्रक्रियागत जटिलताहरूलाई सरकारले क्रमशः समाधान गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरे ।
कार्यक्रममा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री विन्दु श्रेष्ठले बागमती प्रदेश सरकार हस्तकला क्षेत्रको विकासका लागि निरन्तर सक्रिय रहने विश्वास व्यक्त गरे । देशभर उत्पादन हुने झण्डै ८० प्रतिशत हस्तकला बागमती प्रदेशभित्रै केन्द्रित रहेको उल्लेख गर्दै उहाँले आगामी वर्षलाई हस्तकला वर्ष घोषणा गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यवाहक अध्यक्ष अञ्जनकुमार श्रेष्ठले राष्ट्रको पहिचान कला र संस्कृति नै भएकाले यसको संरक्षण र सम्वर्द्धनमा सबैको साझा प्रयास आवश्यक रहेको बताए । उनले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनु अपरिहार्य भएको उल्लेख गर्दै शिक्षा प्रणालीलाई जागिरमुखीभन्दा पनि रोजगार र व्यवसायमुखी बनाउँदै लैजानुपर्नेमा जोड दिए । साथै, राष्ट्रिय हस्तकला विकास नीति ल्याउन सरकारले पहल थाल्नुपर्ने धारणा व्यक्त गरे ।
नेपाल हस्तकला महासङ्घका अध्यक्ष रवीन्द्र शाक्यले मौलिक कला र सांस्कृतिक परम्परालाई जीवन्त राख्न महासङ्घले निरन्तर काम गर्दै आएको जानकारी दिए । वार्षिक २५ देखि ३० अर्ब रुपैयाँ बराबरको हस्तकला निर्यात भइरहेको वर्तमान अवस्थामा समेत सरकारले हस्तकला क्षेत्रलाई अपेक्षित प्राथमिकता दिन नसकेको उनको भनाइ थियो ।











