रुपन्देही । रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर–८ मा रहेको होटल एसियन बुद्धको इलिगेन्ट इन्टरटेन्मेन्ट सेन्टर (मिनि क्यासिनो)का विवादस्पद म्यानेजिङ डाइरेक्टर समीर शर्माको सक्रियताबारे उठेका प्रश्नहरूबीच त्यहाँ कार्यरत एक कर्मचारीले आफुलाई बिनाकारण जागिरबाट निकालेको र मानसिक तनाब दिएको भन्दै जिल्ला प्रसासन कार्यालय रुपन्देहीमा आइतबार उजुरी दिएका छन् ।

यसअघि कमिसन, हिनामिना, नियमविपरीत सञ्चालन र शेयरधनीबीच विवाद सिर्जना गरेको आरोपमा क्यासिनोबाट हटाइएका झापाका शर्मा र सोही क्यासिनोकी एचाआर प्रमुख बिना प्रधानबिरुद्ध भैरहवाकै स्थानिय बासिन्दासमेत रहेका क्यासिनोमा मार्केटिङ प्रमुख रोशनबहादुर शाहीले विना कारण जागिरबाट निकालेको उजुरी दिएका हुन् । उनले आफुले नियमित र संस्थाको नियम अनुसार काम गर्दागर्दै शर्मा र प्रधानले पारिश्रमिक समेत नदिइ बिना कारण कामबाट निकाली बेरोजगार र असान्त बनाएकोले कार्बाही र जागिरमा पुनर्वालीको माग निबेदनमा गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मिति २०८२।०८।२८ को पत्रमार्फत समीर शर्मा र विना प्रधानलाई सोधपुछका लागि २०८२।०९।०२ मा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालयलाई पत्राचारसमेत भएको छ ।
स्रोतहरूका अनुसार शर्मा प्रमुख जिल्ला अधिकारीसँगको सम्बन्धलाई प्रयोग गर्दै क्यासिनोमा पुनः हावी भएका थिए । यसबारे दृष्टिन्युजले यसअघि नै विस्तृत समाचार प्रकासित गरेको थियो । उनले शेयरधनीहरूमा असन्तुष्टि बढाएको र होटल–क्यासिनोको सञ्चालनमा जोखिम बढाएको बताइएको छ ।
क्यासिनोका एक कर्मचारीले भने, ‘पुरानै विवाद दोहोरिएपछि व्यवसाय डुब्ने खतरा बढेको छ ।’ झापा मेचीनगर–९ का समीर शर्मा, जो यसअघि कमिसन हिनामिना, शेयरधनीहरूलाई आपसमा झगडा लगाउने र नियमविपरीत लाइभ गेम सञ्चालन गरेको आरोपमा क्यासिनोबाट हटाइएका थिए । अहिले पुनः संचालकको रवाफका साथ सक्रिय देखिएका छन् । यो बिचमा उनले फर्जी कागजात तयार पारी संचालकबिच सेयरको बिबाद सिर्जना गरेको बाताइन्छ ।
स्रोतका अनुसार शर्माले वर्तमान प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल आफ्नै गृहजिल्ला झापाका र दैनिकजसो भेटघाट हुने भन्दै ‘सिडियो साब हाम्रै गाउँले, सबै आफैं मिल्छ’ भन्दै क्यासिनोभित्र–बाहिर हालीमुहाली चलाउँदै आएका छन् । केही दिनअघि प्रजिअ पोखरेलले बोलाएको रुपन्देहीका सबै क्यासिनो सञ्चालकहरूको बैठकमा पनि जागिरबाट पहिले नै हटाइसकिएका शर्मा नै इलिगेन्ट क्यासिनोको प्रतिनिधि बनेर उपस्थित भएका थिए ।
स्रोतले बताएअनुसार शर्मा सुरुमा सामान्य कर्मचारीको रूपमा भित्रिएका थिए । पछि हप्तावारी–महिनावारी कमाइको कमिसन आफैं लिने, सञ्चालकलाई थाहै नदिई नियमविपरीत लाइभ गेम चलाउने र शेयरधनीहरूबीच फाटो ल्याएर व्यक्तिगत लाभ लिने गरेको आरोपमा उनलाई हटाइएक थियो । पछि उनी होटल संचालकको साथ लिएर क्यासिनोका सेयर धनिलाई फुटाएर एक पक्षको साथमा भित्रभित्रै सक्रिय रहेका थिए ।
हाल नयाँ प्रजिअ आएलगत्तै ‘गाउँले साइनो’लाई हतियार बनाएर उनी फेरि हर्ताकर्ता बनेका छन् । यस्तै खबरहरु सार्वजनिक भैरहेका बेला तिनै शर्मा बिरुद्ध जिल्ला प्रसासन कार्यालयमै उजुरी परेको हो ।












